चतरा : वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको तोरीवारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ४ लाख ५० हजार लिटर क्षमताको नयाँ ट्याङ्की निर्माण गरेको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीको १४ करोड ५० लाख आर्थिक सहयोगबाट लालवस्तिमा निर्माण भएको ट्याङ्कीको बिहीबार उद्घाटन समेत भएको छ । नवनिर्मित ट्याङ्की वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र विशिष्ट अतिथि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका डिभिजन प्रमुख प्रदीपलाल कर्णले उद्घाटन गरेका छन्।

उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वराहक्षेत्र १ र २ का जनप्रतिनिधि , राजनीति दलका प्रतिनिधि एव उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।

पुरानो २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीबाट साबिक वराहक्षेत्र गाविस अन्तर्गतको वडा नं १ , २, ४ , ५ र ६ नम्बर वडामा खानेपानी वितरण तोरीवारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गर्दै आएको थियो । उपभोक्ताहरूलाई समय निर्धारण गरेर खानेपानी उपलब्ध गराउँदै आएको उपभोक्ता समितिले नयाँ ट्याङ्की निर्माण गरेसँगै स्थानीयको माग अनुसार पानी उपलब्ध हुने विश्वास लिएका छन् ।

नयाँ टंङ्कि निर्माण भए पनि पुरानो पाइप कम क्षमताको भएकाले पाइप परिवर्तन भए पछि मात्र २४ घण्टा पानी पुर्‍याउन सकिने उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले बताए।उपभोक्ताहरूको माग र आवश्यकता बमोजिम ट्याङ्की निर्माण भएकोले चाडै पाइप बिस्तारको पनि काम हुने अध्यक्ष सिग्देलले बताए ।

नयाँ ट्याङ्की को पानी बिहीबारबाटै उपभोक्ताको घरघरमा पुग्ने र नयाँ ट्याङ्की भएकाले केही समय पानी निर्मलीकरण गरेर प्रयोग गर्न सिग्देलले आग्रह गरे ।