धरान : धरान उपमहानगरपालिकाले किसानलाई खेती जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ ।

मङ्गबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० को मच्छिन्द्र कृषि तथा पशुपन्छी फर्म, वडा नं. ४ को दाजुभाइ फर्म, वडा नं. ५ को निसानदेवी कृषि समूह र वडा नं. ५ कै ठिङ्गावारि कृषि समूहलाई ४ थान पावर ट्रिलर हस्तान्तरण गरेका छन् ।

उपमहानगरपालिकाका कृषि शाखाका अधिकृत भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा खरिद गरेर कृषकहरूलाई वितरण गरिएको हो । मेयर राईले धरान उपमहानगरपालिका साबिक विष्णृुपादुका गाविस र पाँचकन्या गाविस मिलेपछि उपमहानगरपालिका बनेको जनाउँदै साबिक दुई वटै गाविस कृषिसँग आधारित रहेको बताए ।

वडा नं. ४, ५, ६ र २० का कृषकहरूलाई विगत देखि नै कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको मेयर राईको भनाई थियो। साथै, मेयर राईले उत्पादन र पालनपोषणमा पनि उपमहानगरपालिकाले सहयोग गरिरहेको जनाए ।

स्थानीय तहले प्रदान गरेको मेशिनरी औजार, मल, बिउहरूको अधिकतम रूपमा सदुपयोग गरेर उत्पादन गर्न पनि मेयर राईले सुझाव दिए। मेयर राईले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि आग्रह गरे ।