धरान : धरान उपमहानगरपालिकामा बुधवार एकै दिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार बुधवार धरानमा एकै दिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो समय धरानमा कोरोना संक्रमणदर उच्च हुँदै गएको छ । यसरी कोरोना संक्रमणदर बढ्नुको कारण सर्वसाधारणको लापर्वहीनै मुख्य कारण भएको महाशाखा प्रमुख मेहेताले बताए । देशैभर कोरोना संक्रमणदर बढिरहेको बेलामा धरानमा पनि संक्रमणदर एकै चोटि ह्वात्तै बढ्नु नयाँ भेरिएन्टको कोरोना ओमिक्रोन हुन सक्ने बताइएको छ ।

धरान १४ र २० नम्बर वडा कार्यालय एक साताका लागि बन्द

पछिल्लो समय धरानमा कोरोना संक्रमणदर बढेसँगै धरानका विभिन्न वडाका कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएपछि वडा कार्यालयहरू समेत बन्द हुन थालेका छन् ।

धरान-१४ र २० मा वडा सचिव सहित वडाका अन्य कर्मचारीहरूमा समेत कोरोना सङ्क्रमण भएपछि आज देखि धरान-१४ र २० नम्बर वडा एक साताका लागि बन्द गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।

उनका अनुसार धरान-७, ११, १३, १७ र १९ नम्बर वडाका कर्मचारीमा पनि कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको खतिवडाले बताए । धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणदर बढेकोले धरान उपमहानगरपालिकाले पनि कोरोना परिक्षणदर बढाउँदै लैजाने धरान उपमहानगरपालिकाको योजना रहेको बताइएको छ ।