इटहरी : नेकपा एमाले सुनसरीको अध्यक्षमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पराजित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाममा चौधरीले सय मत पनि कटाएनन् । मेयरमा विजयी भएसँगै निक्कै चर्चित भएका चौधरी पार्टीभित्र अलोकप्रिय देखिएका हुन् ।

बिहीबार साँझ सम्पन्न मत परिणाममा उनले ८० मत पाएका हुन् । कुल २१५० प्रतिनिधि मध्ये १८०५ मत खसेको थियो । त्यसमध्ये चौधरीले लज्जास्पद हार बेहोरेका छन् ।

जिल्ला अध्यक्षमा विजयी भण्डारीले ९२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले ७७५ मत पाए । तर चौधरी प्रतिस्पर्धामा देखिएनन् । भण्डारीलाई पराजित गराउने अभियानमा देखिएका उनी निर्णायक बन्न सकेनन् । यससँगै उनको राजनैतिक बार्गेनिङ कमजोर बनेको छ ।

पूर्व अध्यक्ष समेत रहेका चौधरी देशैभरमा चर्चित नाम हो । नाकको डाढी भाँच्ने अभिव्यक्ति देखी कर्मचारी कुट्ने लगायत प्रकरणमा उनी चर्चित भएका थिए । भ्रष्टाचार विरोधी देखिएका उनले कुनै प्रगति देखाउन नसकेपछि कार्यकर्ता पनि असन्तुष्ट रहे ।

नेकपा एमालेबाट पुनः मेयरको उम्मेदवार बन्ने उनको योजना असफल बन्ने भएको छ । भण्डारीको विजयी सँगै हालकी उपमेयर लक्ष्मी गौतम प्रभावशाली देखिएकी छिन् । गौतमले पनि मेयरमा आकाङ्क्षा राखेकाले उनको सम्भावना केही बढेको छ ।

पछिल्लो समय चौधरी एमाले विभाजन भएर बनेको नेकपा एसका माधव नेपाल सँग निकट रहेका छन् । नेपाललाई घरैमा बेलाएर खाना खुवाएका उनी एमाले नभए नेकपा एसबाटै भए पनि मेयरको उम्मेदवार बन्ने देखिएको छ। जसले गर्दा इटहरीमा एमालेको मत प्रभावित पार्ने र काँग्रेसलाई विजयी गराउन सहज हुने देखिएको छ।