धरान:धरान १६ को चर्चित अनुसा राईको जर्बजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा धर्मपिता वलिमान र उनकी श्रीमति पदमकुमारी राईलाई जन्मकैद फैसला भएको छ ।

सुनसरी जिल्ला अदालतले करिब २२ महिनापछि मुद्दाको अन्तिम फैसला गर्दै दुवै जनालाई सोमबार जन्मकैदको फैसला सुनाएको हो । मुद्दाको सोमबार अन्तिम सुनुवाई पछि ७ नं इजलाशका जिल्ला न्यायाधिश खिमनन्द भुषालको इजलाशले राई दम्पत्तिलाई जन्मकैदको फैसला गरेको अदालत स्रोतले जानकारी दिएको छ । दुवैलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार जन्मकैद फैसला भएको हो । जसअनुसार राई दम्पत्ति २० बर्ष जेल बस्नुपर्ने हुन्छ ।

50060736_1968471539897075_3903171905288404992_n copy

 

 

 

 

 

 

दुवैलाई धर्म छोरी बनाएर राखेकी बालिका अनुसाको करणी र हत्या गरेको आरोप लागेको थियो । उनीहरुले अनुसा आफै बिष पिएर आत्महत्या गरेको दाबी गर्दे छरछिमेकी कसैलाई थाह नदिई अन्तिम दाह सँस्कार गर्न लागेपछि घटना रहस्यमय बनेको थियो । त्यसपछि स्थानीयबासी, अधिकारकर्मीहरुले घटनाप्रति ध्यानाकर्षण जनाउदै निष्पक्ष छानबिनको माग गरेका थिए । यो बिषयमा स्थानीयबासी, अधिकारकर्मीहरुले सडक आन्दोलन गरेपछि मात्र प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । आन्दोलनको क्रममा राई दम्पत्तिको घरमा तोडफोड र आगलागी पनि भएको थियो । ‘यो मुद्दामा दुवै जनालाई जन्मकैद फैसला भएको छ,’पीडितलाई न्याय दिलाउन निरन्तर लागेकी समाजसेवी शिव राईले भनिन् ।

अनुसाको २०७३ फागुन १६ गते हत्या भएको थियो । जिल्ला अदालतले २०७३ चैत १४ मा राई दम्पत्तिलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसविरुद्ध राई दम्पत्ति उच्च अदालत र सर्वोच्चसम्म पुगेपनि दुवैले जिल्लाको आदेश सदर गरेको थियो । सोमबार अदालतमा पीडितको तर्फबाट जिल्ला न्यायाधिवक्ता गोकुल निरौला, सहन्यायाधिवक्ता सुर्दशन निरौला, अधिवक्ता मानबहादुर रुम्दाली, शिवराज चौहान र दर्शन राईले बहस गरेका थिए । राई दम्पत्तिको तर्फबाट भने मोहन कोइरालाले बहस गरेका थिए ।