उदयपुर : प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित धरानका तीन युवक पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले जानकारी दिए ।

उनका अनुसार बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर बेलका नगरपालिका–५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । ‘गाँजा बोक्न प्रयोग भएको गाडी भारतीय हो,’ एसपी राईले भने, ‘पक्राउ परेका तीनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएका छौं ।’