ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इमोबाट लाखौं ठग्ने काका भतिज पक्राउ” शीर्षकको समाचार छापिएको छ । चिठ्ठा पर्यो भन्दै इमोमार्फत लाखौं रुपैयाँ ठगी गरेको आरोपमा काका, भतिजलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर १७ का ४३ वर्षीय रविन्द्र शाह र सोही ठाउँका २२ वर्षीय सन्ताषकुमार शाहलाई पक्राउ गरेको हो । पक्राउ परेका रविन्द्र सन्तोषका काका हुन् । इमोमार्फत् चिठ्ठा पर्यो भन्दै ठगी गरेर आएको पैसा आइएमईमार्फत झिकेपछि प्रहरीले उनीहरुलाई विराटनगर १७ बाट पक्राउ गरेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट नगद ४९ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “गोलीसहित एक पक्राउ” शीर्षकको समाचार छापिएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका १ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोलीसहित महाकुलुङ गाउँपालिका १ बस्ने ३४ वर्षीय ङिमा शेपालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

औजार : आजको औजार दैनिकमा “धरान र धुलिखेल बिच भगिनि सम्बन्ध” शीर्षकको समाचार छापिएको छ । स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यले धरान उपमहानगरपालिका र धुलिखेल नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै नगरपालिकाको भौगोलिक अवस्था, सांस्कृतिक परम्परा, विकासका मोडलहरु फरक फरक भए पनि यी सबै कुरा आदान प्रदान गर्द दुवै स्थानीय तहलाई समृद्धितर्फ लैजाने उद्देश्यले भगिनी सम्बन्ध कायम गरिएको हो । धरान उपमहानगरपालिकाकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले सहमति पत्रमा हस्ताक्षर गर्दै दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको घोषणा गरिएको थियो । संघीय सांसद जयकुमार राई, प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश नं. १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ लगायत धरान उपमहानगरपालिकाका जनप्रतिनधि, कर्मचारी तथा धुलिखेल नगरपालिकाकाका जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा सो ७ बुदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । सो अवसरमा धरान उपमहानगरपालिकाका तर्फबाट धरानमा रहेका राईहरुको सांस्कृतिक पहिचान बाकेको नाच साकेला र धुलिखेल नगरपालिकाकाको तर्फबाट कुमारी नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख व्यञ्जुले यो भगिनी सम्बन्ध ऐतिहासिक समब्न्ध भएको र यसले दुवै नगरपालिकाको समबन्धमा सुदृढ गर्ने मात्र हैन दुवै नगरपालिकाको हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । यता धरान उपमहानगरपालिकाकी प्रमुख मञ्जु भण्डारी सुवेदीले धुलिखेल नगरपालिका धरान उपमहानगरपालिका जनसंख्या र क्षेत्रफलको हिसाबले सानो भए पनि समृद्धि नगरपालका भएको बताउदै यो भगिनी सम्बन्धले दुवै नगरपालिकाको शिक्षा, पर्यटन, कृषि, व्यापार व्यवसाय लगायतको विकासमा ठूलो सहयोग पुग्ने बताए ।