ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वन कर्मचारीकै मिलेमतोमा कानेपोखरीको वन क्षेत्र अतिक्रमण” शीर्षकको समाचार छापिएको छ । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित कानेपोखरी चोकमा राष्ट्रिय वन र सामुदायिक वन अतिक्रमण दिनानुदिन बढ्दै गएको छ । वन अतिक्रमणमा सामुदायिक वन, वन कर्मचारी र बिचौलियाको मिलेमतोमा अतिक्रमण हुने गरेको छ । वन कर्मचारीको मिलेमतोमा अहिले कानेपोखरी चोकको दक्षिणतर्फ कङ्त्रिलट घरहरु धमाधम निर्माण भइरहेका छन् । घरहरु निर्माण भइरहँदा कानेपोखरी चोकमा रहेको सव डिभिजन वन कार्यालयका कर्मचारीहरु भने चुप बसेका छन् । जनजागृति सामुदायिक वन क्षेत्रले संरक्षण गर्दै आएको स्थानमा घर निर्माण भइरहेको छ । निर्माणाधीन घरको अहिले चारैतिरको जग उठाइरहको छ । जनजागृति सामुदायिक वनका अध्यक्ष पूर्ण अधिकारीले रङ्गेली कानेपोखरी सडकले विस्थापित केही व्यक्तिलाई त्यहाँ राख्ने निर्णय सबैले गरेको बताए ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “खानेपानी, रोजगारी र घरनम्बर दिनेलाई भोट” शीर्षकको समाचार छापिएको छ । मंसिर १४ मा हुने उपनिर्वाचन तीन साता बाँकी रहँदा धरान उपमहानगरमा मेयरको लागि विभिन्न राजनैतिक दलहरु आ आफ्नो उम्मेदवारी टुङ्गो लगाएर प्रचार प्रसारमा लागेका छन् । धरानमा २०५१ सालदेखि चुनाव जित्दै आएको नेकपा भर्खरैमात्र आफ्नो उम्मेद्वारको टुंगो लगाएर चुनाव प्रचारप्रसारमा लागेको छ । धरानलाई आफ्नो गढ मान्ने नेकपाले जिल्ला सदस्या प्रकाश राईलाई अठाएको छ । त्यस्तै प्रतिस्पर्धीको रुपमा रहेको काङ्ग्रेसले १ महिनाअगाडि नै उपमहानगर सभापति राईलाई उम्मेदवार बनाएको छ । यतिबेला काङ्ग्रेसले प्रचार प्रसार गरिरहेको छ । त्यस्तै अन्य दलहरु सङघीय समाजवादीबाट गजेन्द्र इस्वो, संघीय लिम्बुवान मञ्चबाट अमर इजम, साझा पार्टीबाट राजन श्रेष्ठलगायले आ आफ्नो उम्मेदवारी टुङ्गो लगाएसँगै चुनावी प्रचारप्रसारमा छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारका रुपमा हर्क साम्पाङ पनि चुनाव प्रचारप्रसारमा छन् । नेताहरु प्रायः चुनावका बेला मात्र आश्वासनको पोको बोकेर गाउँबस्ती पस्ने आरोप लाग्ने गरेको छ । धरानमा अहिले प्रायः सबै राजनैतिक दलहरु एजेण्डा बोकेर गाउँबस्ती छिरेका छन् । उपनिर्वाचनले धरानमा जनता र नेताबीच फेरी एकपटक जम्काभेट गर्ने मौका जुरेको छ । चुनावको समयमा “यो गरिदिउँला र त्यो गरिदिउँला” भन्दै भोट माग्ने नेता कार्यकर्ताहरु चुनाव जितेपछि बस्तीमा आएर समस्या नियाल्नु त परै जाओस, समस्या लिएर जाँदा भेटसमेत गर्न नमान्ने गरेको गुनासो गर्ने धरान ५ देउरालीका बासिन्दाका लागि उम्मेदवारलाई समस्या राख्ने राम्रो थलो बनेको छ, चुनावी अभियान ।

औजार : आजको औजार दैनिकमा “बुहारीलाई बोक्सी भन्दै यातना” शीर्षकको समाचार छापिएको छ । रुढीवादी र अन्धविश्वास अझै ग्रामीण भेगमा अन्त्य हुन सकेको छैन । यसको ज्वलन्त उदाहरण हो, पाँचथरको याङ्वरक गाउँपालिका २ फलैचामा भएको घटना । त्यो पनि आफ्नै बुहारीलाई बोक्सी भन्दै यातना दिन खोजेको खबर सार्वजनिक भएको छ । एक हिलिहाङ गाउँपालिका ३, कुर्लुम्बा माइती घर भएकी पुजा भारतीले आफुलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताकी छन् । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाइन् । पूजा भागेर अहिले माइतिको शरणमा पुगेकी छन् । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफुलाई बोक्सी भन्दै निर्घात कुटपिट समेत गरेको पुजाको भनाइ छ ।