औजार :  आजको औजार दैनिकमा “दशगजा मिचेको गेट हटाउन भएन पहल” शीर्षकको समाचार छापिएको छ । भारतीय सरकारले नेपाली भुमि लिपुलेकलाई आफै क्षेत्रभित्र राखेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको तिब्र विरोध भइरहेको छ । पूर्वि नेपालको दोस्रो ठुलो नाकाको रुपमा रहेको भाण्टाबारी नाकाको दशगजा नै मिचेर भारत सरकारले स्वागत गेट निर्माण गरेको अझै हटेको छैन । पूर्वी नेपालको जोगवनी, काँकडभिट्टापछि बढी समान आउने र चहलपहलहुने छोटी भन्सार समेत भण्टाबारीमै छ । नेपाली प्रशासनको पनि राम्रो उपस्थिति भएको नाकामा भारतले दशगजा मिचेर बनाएको गेट भने हटाउन प्रशासनको कुनै पहल छैन । छोटी भन्सार भन्ने बित्तिकै नेपाली शसस्त्र प्रहरीको उपस्थिति बाक्लै हुन्छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धरानको फोहोरबाट ग्यास उत्पादन गरिने” शीर्षकको समाचार छापिएको छ । धरानमा जैविक अजैविक गरी दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । त्यो फोहोर कोशी सडक खण्डको सेउती पुलभन्दा सय मिटर माथि डम्पिङ गर्दै आएको छ । वातावरणीय हिसाबले जंगल क्षेत्रमा फोहोर डम्पिङ गर्नु खतरापूर्ण मानिन्छ । वातावरण संरक्षण ऐन २०५३, संशोधन २०७७५ को दफा ९ को (१) मा राष्ट्रिय सम्पदाको संरक्षण गर्नु सबै निकायको दायित्व हुने उल्लेख गरिएको छ । तर, केही स्थानीय तह आफैले जंगल क्षेत्रमा नै डम्पिङ गर्दै त्यो दफाको खिल्ली उडाइरहेका छन् । धरान, इटहरीजस्ता सुनसरीका दुई उपमहानगरले फोहोर व्यवस्थापन जंगल क्षेत्रमा गर्दै आइरहेका छन् । तर, अब धरानमा उत्पादित फोहोरबाट भने ग्यास उत्पादन हुने भएको छ । काठमाण्डौंको बेस्ट टु इनर्जि नामक संस्थाले फोहोरबाट बायो ग्यास (मिथेन) उत्पादन गर्दै धरानको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको छ । वेस्ट टु इनर्जिले धरान उपमहानगरपालिकासँग गरेको सम्झौताअनुसार २० वर्षसम्म कम्पनीले सञ्चालन गर्ने छ ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “सुत्केरी श्रीमतीलाई अस्पतालमै छाडेर भागेपछि...” शीर्षकको समाचार छापिएको छ । सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी श्रीमतीलाई पैसा खोजेर आउँछु भनी डिडेका श्रीमान बेपत्ता भएपछि झापा कन्काई नगरपालिका ४ कोटीहोमकी एसिला मगर अहिले अलपत्र बनेकी छन् । कात्तिक ९ गते सुत्केरी व्यथा लागेर विर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलमा भर्ना भएकी पीडित भगर अस्पतालको बिल भुक्तानी गर्न नसकेर अलपत्रमा परेकी हुन् । उनले काक्तिक १० गते शिशु जन्माएकी थिइन् । उनको सहयोगार्थ गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित संस्था विर्तामोड ४ झापाले अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार कन्काई नगरपालिकास्थित सुरुङगाबाट एसिलालाई अस्पतालबाट उन्मुक्ति दिलाउन आर्थिक सहयोग अभियान सञ्चालन गर्न लागेको संस्थाका सञ्चालक भूपाल बस्नेतले बुधबार पत्रकार भेटघाट गरी जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “भारतीय सीमामै पुगेर विरोध प्रदर्शन” शीर्षकको समाचार छापिएको छ । भारतको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको विरोधमा युवाले नेपाल भारत सीमाको जोगबनी नाकामा प्रदर्शन गरेका छन् । बिहीबार स्वतन्त्र युवा समूहको ब्यानरमा भारत सीमामा पुगेर विरोध प्रदर्शन गरिएको हो । भारतले आफ्नो देशको नक्सामा नेपालको भूमि राखेकाले त्यसलाई सच्याउनुपर्ने भन्दै युवाले भन्लै नेपाल भारत सीमा जोगबनीमा प्रदर्शन गरेका हुन् । रानी भन्सारको दुई नम्बर ढाट नजिकै माइक लगाएर विद्यार्थीले विरोध सभा गरेका थिए । सहभागीले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, हाम्रो सिमाना मिचेको हो की बेचेको, सरकार किन मौन छ ? लेखिएको प्लेकार्ड प्रदर्शन गरिको थियो ।