ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “हराए सुनसरीका २३ सीमा स्तम्भ” शीर्षकको समाचार छापिएको छ । भारतले प्रकाशित गरेको राजनीतिक नक्साका कारण विवाद चर्किरहेका बेला सुनसरीमा २३ वटा सीमा स्तम्भ गायब भएको पाइएको छ । नेपाल भारत सीमा क्षेत्रमा २ सय ९० वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल २३ वटा हराएको पाइएको सरकारी अधिकारीले बताएका चन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका अनुसार चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ गायब बनेका हुन् । सशस्त्र प्रहरी सीमा सुरक्षा सुनसरीका एसपी कृष्ण ढकालका अनुसार जिल्लाको दक्षिणवर्ती क्षेत्रका सीमा स्तम्भ हराएका हुन् । ढकालले सुनसरीको कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका सीमा स्तम्भ गायब भएका हुन् । यद्यपि कोशी गाउँपालिका ८ भण्टाबारीमा मात्रै २३ वटाजति सीमा स्तम्भ हराएको स्थानीय दाबी गर्छन् । सशस्त्र प्रहरी बल बिओपी हरिपुरले ४९ वटा सीमा स्तम्भको रेखदेख गर्नुपर्नेमा हाल २६ वटा मात्रै फेला परेको र २३ वटा अझै गायब भएको स्थानीयले बताए । हराएका सीमा स्तम्भ भारतीय पक्षले अतिक्रमण गरेको नभई बाढीका कारण बगाएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “७ लाख हुण्डी रकमसहित २ जना पक्राउ” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका वडा नं. १५ स्थित भन्सार कार्यालयको अगाडिको बाटोमा हुण्डी कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । को ३९ प ७३९३ नम्बरको मोटरसाइकल प्रयोग गरी अवैध नगद रुपैयाँको ओसारपसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आएको को ३९ प ७३९६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा विराटनगर महानगरपालिका वडा नम्बर १४ ओम साइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार अर्का व्यक्ति पक्राउ परेका हुन् । पछाडि बस्ने व्यक्ति भारतको अररियाको वडा नं. १७ जोगबनी साँहुटोल बस्ने १९ वर्षीय बिक्कीकुमार साह भएको मोरङ प्रहरी प्रवक्ता राजकुमार खिउँजुले जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “महोत्सव अगावै आधा करोड संकलन” शीर्षकको समाचार छापिएको छ । झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवम् १०८ कुण्डका दाताले कोटिहोम शुरुहुन २ दिन अगावै ५३ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ । यो रकम १०८ कुण्डका दाताले दान गरेका हुन् । धार्मिक महोत्सवका संरक्षक एवं गोलोक गोवद्र्धन गौशालाका पिठाधिसाचार्य नन्दकिशोर भारद्धाजका अनुसार हालसम्म ८५ कुण्डमा दिवंगत पितृको उद्धारका लागि दाता परिवारले नाम दर्ता गराइ सकेका छन् । यसका साथै शिवसताक्षी नगरपालिकाले धार्मिक महोत्सवसञ्चालन सहयोगार्थ १० लाख रकम प्रदान गरेको छ ।