औजार : आजको औजार दैनिकमा “तीन महिनादेखि एक युवक अस्पतालमै बन्धक” शीर्षकको समाचार छापिएको छ । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दपुर घर भएका २० वर्षीय एक युवक तीन महिनादेखि अस्पतालमा नै छन् । जीवन भुजेल लामो समयदेखि अस्पतालमै उपचार खर्च तिर्न नसकेर बन्धक भएका हुन् । उनी सात महिनादेखि विराटनगरको विराट अस्पतालमा छन् । गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका १ को इखुवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुरबीच भएको विवादमा कुटाकुट हुँदा छुट्यान गएका जीवनलाई टाउको र घाटीमा रड प्रहार गरिदा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएको जीवनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल रेफर गरिएको थियो । टाउको र घाँटीमा गम्भिर चोट लागेका जीवन सात महिनादेखि उपचार खर्च तिर्न नसकेर विराट अस्पतालमा छन् । घाँटीको शल्यक्रिया, औषधि र खाना गरेर विराट अस्पतालमा ६ लाख बढी पुगिसकेकोले उक्त रकम तिर्न नसक्दा अस्पतालमा बन्धक हुनुपरेको बताउँदै पिडीत जीवने सहयोगका लागि अनुरोध गरे ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ भूमाफियाले कब्जा गरेको जग्गा फिर्ता ल्याउन पहल” शीर्षकको समाचार छापिएको छ । भूमाफियाको कब्जामा रहेको विर्तामोडको डोमालाल राजवंशी रङ्गशालाको जमिन फिर्ता ल्याउने तयारी थालिएको छ । सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि भूमाफियाको कब्जामा रहेको उक्त जग्गा फिर्ता ल्याउने पहल थालिएको हो । रङ्गशालाको सार्वजनिक जमिन बचाउन सक्रिय सामाजिक अभियन्ता गणेश पोखरेलले आयोगका अध्यक्ष मोहनरमण भट्टराई पत्र लेख्दै जमिन फिर्ता ल्याउन माग पनि गरेका छन् । सार्वजनिक जमिन व्यक्तिका नाममा पारेर हडप्ने क्रम बढेपछि सरकारले यसैवर्ष सरकारी, सार्वजनिक र गुठीको जमिन संरक्षणसम्बन्धी जाँबुझ आयोग गठन गरेको छ ।

यसैगरी आजको ब्लाष्टमा झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको समाचार छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई एक हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ परेको दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “पाँचथरमा सुन्तला उत्पादन वृद्धि” शीर्षकको समाचार छापिएको छ । पाँचथरमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष ८ सय मेट्रिक टन बढी सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र पाँचथरले जनाएको हो । जिल्लामा यो वर्ष ७ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । वर्षेनी सुन्तला उत्पादन बढ्दै गएपछि यहाँका किसानहरु सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा ६ सय ९० हेक्टर क्षेत्रफल जमिनमा तीन सयभन्दा बढी किसानले सुन्तला खेती गरेका छन् ।पाँचथरको मिक्लाजुङ, फाल्गुनन्द, कुम्मायक र याङ्वरक गाउँपालिकासँगै फिदीम नगरपालिकाको नाँगिन, याङ्नाम र चोकागुमा सुन्तला उत्पादन हुने गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ मा रहेको कुरुम्बाका किसानले मात्र यो वर्ष २ करोड रुपैयाँ बराबरको सुन्तला विक्री गरेका छन् । यो क्षेत्र सुन्तला खेतीको लागि प्रसिद्ध छ ।