ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “‘प्रकृति बलात्कार, मुद्दा यौन दुव्र्यवहार’” शीर्षकको समाचार छापिएको छ । पाँचथरमा किशोरी बलात्कारको घटनालाई प्रहरीले कमजोर मुद्दा बनाउन खोजेको आफन्तले आरोप लगाएका छन् । मिक्लाजुङ गाउँपालिकाकी १५ वर्षीया किशोरी सुतेकै अवस्थामा बलात्कारको शिकारमा परेपनि प्रहरीले यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरेको आफन्तको भनाई छ । किशोरी बलात्कारमा मिक्लाजुङका ५७ वर्षीय कृष्णराज गहतराज पक्राउ परेका छन् । तर, पक्राउ परे पनि मुद्दालाई कमजोर बनाउन यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरेका कारण अपराधी उम्काउन प्रहरीले चलखेल गरेको आफन्तले बताएका छन् । पुस १९ गते रातको समयमा किशोरीलाई बलात्कार गरेका थिए । पीडितले दिएको उजुरीका आधारमा गहतराज पक्राउ परेका थिए । न्यून आर्थिक अवस्था भएकी किशोरीलाई प्रलोभन तथा दबाबमा पारेर बयान फेर्न लगाइरहेको आफन्तको भनाई छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “अवैध मोटरसाइकल नियन्त्रणमा” शीर्षकको समाचार छापिएको छ । उत्तरी मोरङ क्षेत्रमा कागजात नभएका बाईक तथा अन्य सवारी साधन निर्वाध रुपमा गुड्ने गरेको तथ्य प्रहरीका लागि नौलो होइन । इलाका प्रहरी कार्यालय बेलबारी मातहतमा पर्ने केराबारी, डाँगी, सतिसाले, चिउरी भञ्ज्याङ, सिधुरे, डाँले आदी क्षेत्रमा प्राय यस्तो गुनासो नागरिक स्तरबाट प्रहरीकहाँ आउने गर्दथ्यो । जनशक्ति अभावले ट्राफिक प्रहरीको समेत दरबन्दी कायम गर्न नसकेको अवस्थामा बेलबारी आउने औसत प्रहरी इन्चार्जहरुले मात्र यो विषयमा ध्यान दिने गरेका थिए । हालका बेलबारी प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक गुणराज बुढाथोकी अधिघका राजकुमार राईले कागजात नभएका सवारी नियन्त्रण लिने अभियान चलाएका थिए । राईको पालामा केही कम भएको यो प्रवृति अहिले पुनः बढेको छ । दुई साता अघि जिल्ला प्रहरी कार्यालय मोरङले केराबारी क्षेत्रबाटै चोरीका बाइकका पार्ट्स निकाल्न बनाइएको मिनि वर्कसप मा छापा मारेर इन्जिन तथा बाइकका अन्य पार्टस् बरामद गरेको थियो । त्यससँगै बाइक चोरीमा संलग्न सन्तोष खत्री समूहको दुईजनालाई प्रहरीले चोरीको बाइक सहित पक्राउ पनि गर्यो ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कानुन व्यवसाय चुनौतीपूर्ण बन्दै” शीर्षकको समाचार छापिएको छ । पछिल्लो समय न्यायलय क्षेत्रमा न्यायाधीशका न्याय निरुपणका निर्णयहरु प्रति प्रश्न उठ्न थालेका छन् । वर्तमान प्रधानन्यायाधिशबाट कतिपय फैसलाहरुका बारेमा न्यायाधिश समेतलाई गरिएको कार्बाहीले न्याय निरुपणमा उठेका प्रश्न स्वभाविक थियो भन्ने कुरालाई पुष्टि समेत गरेको छ । यस्तो अवस्थामा लोकतन्त्रका रक्षा र न्यायलयप्रति सर्वसाधारणको विश्वास र आस्थालाई अक्षुण राख्न न्याय दिलाउने कानुन व्यवसायीहरुको पेशा चुनौतीपूर्ण बन्दै गएको कुरा पूर्व प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डा. गोविन्द बहादुर तुम्बाहाङले बताएका छन् । अधिवक्ता आनन्द सन्तोषी राई, राजन राई, अभिवक्ता मदन ढकालले शुरु गरेका धरान वडा १ लक्ष्मी सडक स्थित संयुक्त कानुनी सेवा सम्पर्क केन्द्र कार्यालयको उद्घाटनको अवसरमा उनले उक्त कुरा बताएका हुन् ।