औजार : आजको औजार दैनिकमा पूर्वराजाको चिया बगानले तलब नदिदा श्रमिकहरु ‘भोकभोकै’ शीर्षकको समाचार छापिएको छ । झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालयन महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरुले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् । पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल्टी ग्रुपले यो चियाबगानको व्यवस्थापन जिम्मा भारतीय कम्पनीलाई दिएको छ । सो कम्पनीका व्यवस्थापक सुमेन्दु मुखर्जी पैसा ल्याउँछु भनेर १० दिनअघि भारत गए पनि फर्किएका छैनन् । ०१८ सालमा पूर्वराजपरिवारले स्थापना गरेको चियाबगान पञ्चायतमा ‘हिमालय टि गार्डेन एण्ड फार्मिङ प्रालि’बाट चलेको थियो । पञ्चायतको समाप्तिसँगै ‘हिमालय गुडरिक’ र हाल ‘हिमालयन महालक्ष्मी टी गार्डेन’को नाममा रहेको छ । ३ सय १६ जना मजदुर कार्यरत बगानले उनीहरुलाई दुई महिनाको करिब ५० लाख रुपैयाँ तिर्न बाँकि छ ।

आजको औजार दैनिकमा भवन अभावमा खुल्ला चौरमा पढ्दै विद्यार्थी शिर्षकको अर्को समाचार पनि छापिएको छ । ओखलढुंगा, सिन्धुली र रामेछापका विभिन्न स्थानबाट अध्ययन गर्न सिन्धुलीको गोलन्जोरमा रहेको सुनकोसी प्राथमिक विद्यालयमा जाने विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य रहेका छन् । २०७२ सालको विनासकारी भूकम्पमा ढुंगामाटोले बनाएको पाँच कोठे भवन भत्काएपछि कक्षा कोठाको अभावका कारण खुल्ला चौरमा अध्ययन गर्न बाध्य भएका हुन् । गोलन्जोर गाउँपालिका-१ च्याकुटारबेसीमा रहेको विद्यालयमा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मार्फत दुई कोठे टिसियल भवन निर्माण गरिएको भए पनि कक्षा कोठाको अभावमा विद्यार्थी खुल्ला चौरमाा राखेर पढाउनुपर्ने बाध्यता नहटेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद न्यौपानेले बताए । कक्षा कोठाकै अभावमा अहिले बाहिर खुला चौरमा ठाउँ ठाउँमा विद्यार्थीलाई भेला गरी पढाउँदै गरिएको उनको भनाइ छ । हिउँदको समयमा जसोतसो गुजारा चलाए पनि वर्षातको मौसममा भने धेरै समस्या हुने गरेको उनले बताए । कार्यालयसहित ६ वटा कक्षाकोठाको आवश्यक भए पनि विद्यालयमा अहिले सबै कक्षाकोठा अभाव नै रहेको छ । अहिले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले दुईतले चार कोठाको पक्की भवन निर्माण थालिएको भए पनि निर्माण पूरा गर्न अझै केही समय लाग्ने उनको भनाइ छ । केही समय पहिलासम्म बाँसको टाटीले बेरेर पढाइएको भए पनि हावापानीले पढाउन कठिन भएपछि अहिले इँटा लगाएर घेराबेरा गरी केही कक्षाकोठालाई दुखले काम चलाएको पअ न्यौपानेले बताए । २०५३ सालमा शिक्षा कार्यालयबाट अनुमति लिएर स्थापना गरिएको उक्त विद्यालयमा बढी मात्रामा जनजाति र सीमान्तकृत वर्गका बालबालिका पढ्ने गरेका छन् भने स्थानीय बालबालिकासहित सिन्धुलीकै फिक्कल गाउँपालिका, रामेछाप जिल्लाको मसलीघाट र ओखलढुंगा जिल्लाको नबलपुर गाउँका बालबालिका नियमितरूपमा पढ्न आउने गरका छन् । कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ५७ जना विद्यार्थी अध्यनरत छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा एसएसपी राणा प्रकरणः करणी मुद्दा विवादित बन्दै शीर्षकको समाचार छापिएको छ । संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सौरभ राणामाथि थप अनुसन्धानका लागि शुक्रबार दोस्रोपटक ८ दिनको म्याद भएको छ । राणा गत सातादेखि प्रहरी नियन्त्रणमा छन् । एसएसपी राणा आफू विरुद्ध पक्राउ पूर्जी जारी भएपछि आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । झापा निवासी एक महिलाले राणाले आफुलाई साउन २५ गते इटहरीस्थित पाथिभरा होटलमा जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । निलम्बित एसएसपी राणाविरुद्ध जबरजस्ती करणीको आरोपमा किटाणी जाहेरी दिएकी महिलाले अहिले प्रहरी र सरकारी वकिलको कार्यालयले आफ्नो सहमति विपरित मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता गराउन हारगुहार गरिरहेकी छिन् । गृहमन्त्रालयमा समेत यसबारे जानकारी गराएकी ३५ वर्षकी ति महिलाले आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर उनले मुद्दा फिर्ता लिने बताईन् । ति महिलाले आफुलाई गृहमन्त्रालयको एक महिला कर्मचारीले दबाबमा मुद्दा दर्ता गर्न लगाएको बताएकी छिन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा यादव हत्या प्रकरणः जहदाका वडाध्यक्ष जेल चलान शीर्षकको समाचार छापिएको छ । विराटनगर १४ जतुवाका ५५ वर्षीय सोमानन्द यादव हत्या प्रकरणमा मुछिएका मोरङ जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ जिल्ला अदालतका न्यायधिश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि थुनामा राख्न शुक्रबार आदेश गरेको हो । अदालतको आदेशपछि यादव पुर्पक्षका लागि कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । हत्या आरोप लागेसँगै गत असारमा तीनजना वडाध्यक्ष सहित १० जना फरार छन् । फरार भएकामध्ये यादव शुक्रबार सुटुक्क अदालत हाजिर भएका थिए । सोही दिन थुनछेक बहस भएको थियो । वादी र प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेपछि अदालतले आदेश गरेको हो । विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समान्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।