ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स संघीयता कमजोर बनाउने षड्यन्त्र हुँदैछ शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभुति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाई छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्सव २०७६ को उद्घाटनका लागि गृह जिल्ला आएका राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राखे । मुख्यमन्त्री राईले भने, ‘देश संघीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।’ यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै उनले जनतालाई छल्ने र बहाना बनाउने कुनै छुट नभएको बताए । ‘जनताले हामीबाट धेरै आशा गरेका छन्, यो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आलटाल गर्ने कुनै छुट छैन’ उनले भने । अहिले काठमाडौ धाउनुपर्ने अवस्था नरहेको बताउँदै उनले ठूला लगानीका योजना सञ्चालन गर्न हैसियत प्रदेश सरकारसँग रहेकोले विकास भएन भनेर नडराउन आग्रह गरे ।

आजको ब्लाष्ट टाईम्समा दुरुत्साहन मुद्दामा दुई पक्राउ शीर्षकको अर्को समाचार पनि छापिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाकी एक महिलालाई ब्ल्याकमेलिङ गरी आत्महत्या गर्न बाध्य बनाएर दुरुत्साहन गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सुन्दरहरैचा ५ गौशाला घर भई भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने १९ वर्षीया प्रिती तिम्सिना –अधिकारी) लाई आत्महत्या गराउन बाध्य बनाएर दुरुत्साहन गरेको आरोपमा सुन्दरहरैचाका ऋषिराम भट्टराई र १९ वर्षीया संजिता निरौलालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । गत फागुन ८ गते प्रितीले ऋषिराम र संजिताको नाम सुसाइड नोटमा उल्लेख गरेर आत्महत्या गरेकी थिइन् । प्रितीले आत्हत्या गर्नुअघि भट्टराई र निरौलाले आफूलाई ब्ल्याकमेलिङ गरी बारम्बार पैसा मागेको कारणले आत्महत्या गरेको सुसाईड नोटमा उल्लेख भएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा खाजा भत्तामा भ्रष्टाचार शीर्षकको समाचार छापिएको छ । अस्पतालाका कर्मचारी तथा चिकित्सकको खाजा भत्ताका लागि आएको रकम अनियमितता गरेको भन्दै केही कर्मचारी विरुद्ध सुनसरी जिल्ला अस्पताल इनरुवामा अख्तियार अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले इनरुवा अस्पतालका नामबाट खाजा भत्तातर्फ ९ लाख ४९ हजार ६ सय ७० रुपैयाँ, प्रोत्साहन भत्ता र रात्रिकालिन भत्ता तर्फ १५ लाख ९ हजार २ सय ७० रुपैयाँको खर्च देखाएको प्रमाणित कागजपत्र अनुसार खर्च गरिएको रकम फर्जी रहेको फेला पारेपछि थप अनुसन्धान गदै कानुनी कारबाहीका लागि सम्बन्धीत व्यक्ति उपर मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । अख्तियारको इटहरी स्थित कार्यालयले आर्थिक वर्ष २०७५,७६ मा इनरुवा अस्पताल प्रशासनबाट दैनिक खाजा भत्ता र रात्रिकालिन प्रोत्साहन भत्ताका नाममा सम्बन्धित व्यक्तिालाई रकम नदिई केही कर्मचारीहरुले झुठा विवरण तयार पारी रकम खर्च देखाई भ्रष्टाचार गरेको पाइएपछि रकम बाँडफडमा संलग्न कर्मचारी उपर छानबिन थालेको हो ।