झापा - झापाको दमक-३ स्थित सुकुम्वासी बस्तीका महिलाहरू आफ्नो बचत समूहकी अध्यक्ष बेपत्ता भएपछि ऋणमा चुर्लुम्मै डुबेका छन् ।

सहारा नेपाल, जीवन विकास संस्था, फरवार्ड लगायतका लघुवित्त एवम् अन्य समूहहरूबाट सामूहिक जमानीमा ऋण लिएका उनीहरू अध्यक्षले लिएको लाखौँ रुपैयाँ तिर्नु पर्दा सङ्कटमा परेका हुन् । बचत समूहकी अध्यक्ष धनकुमारी मगर गत पुस १५ गते देखि बेपत्ता छिन् । उनले ती लघुवित्त, स्थानीय समूह तथा छरछिमेक तथा आफन्तबाट समेत १० लाख रुपैयाँ भन्दा बढी ऋण लिएको स्थानीयले बताए ।

अध्यक्ष मगरको खोजी गरी दिन इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएको भए पनि आफूहरूले खोज्न नसक्ने जवाफ दमक प्रहरीले दिएको पीडितहरूको गुनासो छ । लघु वित्त संस्थाहरूले सामूहिक जमानीमा ऋण दिने र एक जनाले नतिरे अन्य सदस्यले दामासाहीले तिर्नु पर्ने नियम बनाएका कारण बाँकी सदस्यहरू ऋणको भारमा परेका हुन् ।

अधिकांश सदस्यहरू मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर लघुवित्तबाट रकम सङ्कलनमा आउने सङ्कलकले बेपत्ता सदस्यको समेत किस्ता नबुझी नजाने अडान लिएर बस्दा बाध्य भएर तिर्नु पर्ने सदस्यहरूले गुनासो गरेका छन् । बेपत्ता भएकी मगरका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । बुहारी कहाँ र किन गइन आफूहरूलाई केही थाहा नभएको मगरका ८४ वर्षीय ससुरा खिन्न बहादुरले बताएका छन् ।