झापा- दैनिक हजारौँ नागरिकको आवतजावत हुने पूर्वी नाका काँकडभिट्टामा केही दिनयता चहलपहल घटेको छ ।

अरुबेला काँकडभिट्टाबाट सीमा पार हुन निकै कष्ट व्यहोनु पर्ने हुन्थ्यो । तर, कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नेपाल र भारतीय पक्षले सीमामा आवतजावत कडाइ गरेपछि चहलपहल शून्य जत्तिकै भएको छ । विभिन्न राष्ट्रबाट नेपाल भित्रिने मुख्य नाका मध्येको काँकडभिट्टामा अहिले सुनसान भएको छ । किनमेल गर्न जानेहरू पनि घटेका छन् । बङ्गलादेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थी गत मङ्गलवार र बुधवार ठुलो सङ्ख्यामा फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यस्तै, काँकडभिट्टा नाकाबाट विभिन्न सामग्री लिएर नेपाल आउने भारतीय सवारी बाहेकको आवतजावत लगभग नरहेको बताइएको छ । यसैबिच भारतमा कोरोना सङ्क्रमण देखिएपछि पूर्वी नाकामा विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

यद्यपि काँकडभिट्टाको संवेदनशीलता अनुसार जनशक्ति परिचालन भएको भने पाइएको छैन । खुल्ला सीमाका कारण उच्च जोखिममा रहेको पूर्वी नाकामा आवश्यक जनशक्ति र पर्याप्त स्वास्थ्य सामग्री नभएको पाइएको छ ।

यस्तै, काँकडभिट्टा-पानीट्याङकी आवतजावत गर्ने अटो समेत बन्द गरिएको छ । भारतीय प्रशासनसँग समन्वय गरेर अटो रोक्ने काम भएको हो ।