धरान : लकडाउनको बेलामा धरानमा तरकारी जन्य बस्तु सहज आपुर्ती गराउन आईतबार धरान उपमहानगरपालिकामा बैठक बसी तरकारी विक्रि वितरण उपसमिती गठन गरिएको छ ।

शनिबार तरकारीमा व्यापक कालोबजारी भएको र तरकारीको भाउ उच्च भएको भन्दै सर्वसाधरणले गुनासो गरेपछि धरान उपमहानगरपालिकामा आज आकस्मिक बैठक बसी सो समिती गठन गरिएको हो ।

कृषि उपज बजारस्थल धरान १३ को संयोजकत्वमा गठन भएको समितिको सदस्यहरुमा भानु सव्जि मण्डि, नयाँ सव्जि मण्डि र तरकारी व्यावसायीहरु सदस्य रहेका छन् । यो उपसमितीले वडावाईज सेडुल गरेर हरेक वडामा तरकारी विक्रि वितरण गर्ने जनाईएको छ । यो समितीलाई धरान उपमहानगरपालिकाले नियमन गर्नेछ ।

आज बसेको आकस्मिक बैठकले अव देखि धरानमा आपुर्ति हुने तरकारी अनिवार्य रुपमा कृषि बजारमा इन्ट्रि हुन गराउनुपर्ने, धरानभरीका वडाहरुलाई तालिका बनाएर विभिन्न वडाहरुमा विक्रि वितरण गर्ने, धरानमा रहेका पालिका तरकारी बजार, लगायत अन्य खुद्रा तरकारी बजारहरु लकडाउन अवधिभर संचालन गर्न नपाईने समेत निर्णय गरिएको छ ।

यसैगरी तरकारीको प्रत्येक दिनको थोक मुल्य धरान उपमहानगरपालिकालाई उपलब्ध गर्नुपर्ने पनि निर्णय गरिएको छ । लकडाउनको बेलामा तरकारीको मुल्य उच्च भएको र कालो बजारी तरकारीमा भएको भन्दै धरान उपमहानगरपालिकाले आकस्मिक बैठक बोलाएको हो ।

कृषि उपज बजार स्थलमा नियमित तरकारी विभिन्न ठाउँबाट आईरहेकोले तरकारीको मुल्य बढाउनुपर्ने अवस्था नभएको कृषि उपज बजार स्थल धरानका व्यावस्थापक लक्ष्मण भट्टराईले बताए ।