काठमाडौं : प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीले आफ्नै कम्पनीले डेभलप गरेको न्युज पोर्टल नै ह्याक गरेर अन्तर्राष्ट्रिय ह्याकरलाई पनि माथ दिएका छन्, उनकै कम्पनी एफवान सफ्टले नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्थाको मोबाइल एप बनाएको छ र फोन पेको गेटवे पनि सञ्चालन गरेको छ, डेभलपरको इमान नै संकटमा परेकोले बैंकको वित्तीय सुरक्षा पनि जोखिममा परेको छ ।

नेपालका २२ वाणिज्य बैंक र अन्य २६ वित्तीय संस्थाको मोबाइल एप असगरकै कम्पनीले बनाएको हो । सो कम्पनीले काठमाडौं प्रेस अनलाइन न्युज पोर्टल ह्याक गरेको पुष्टि भएको छ । आफैंले डिजाइन गरेको न्युज पोर्टलमा अनधिकृत रूपमा प्रवेश गर्ने सो कम्पनीले कुनै दिन बैंक तथा वित्तीय संस्थाको प्रणालीभित्र छिरेर वित्तीय हिनामिना गर्ने जोखिम देखिएको छ ।

असगर अलि र उनको समूहले सञ्चालन गरेको ई-सेवाले डिजिटल वालेटको रूपमा सेवा दिन्छ । जहाँ ग्राहकले आफ्नो बैंकमा भएको रकम ट्रान्सफर गरेर आवश्यक खर्च गर्न सक्छन् । सो समूहले फोनपे सेवा पनि सञ्चालन गरिरहेको छ जसले ग्राहक, व्यापारी र बैंकलाई जोड्छ । यसको संयन्त्र पनि ई-सेवा समूहकै एफवान सफ्टले नै विकास गरेको हो । यही माध्यमबाट नेपालका अधिकांश बैंकको अनलाइन भुक्तानी हुने गरेको छ । त्यति मात्रै होइन, कतिपय नेपाली बैंकको डेटा होस्टिङ समेत एफवान सफ्टले गर्ने गरेको छ ।

‘वेबसाइट र एप निर्माणलगायतका साइबर सर्भिस पूर्णतः नैतिक सम्झौता हो, तर त्यहाँ बेइमान गर्न सक्नेले कुनै पनिवेला जतिसुकै स्तरको क्षति गराउन सक्छ,’ एक साइबारविज्ञले नयाँ पत्रिकासँग भने, ‘केही बैंकले खर्च घटाउन एफवान सफ्टकै सर्भर प्रयोग गर्नेदेखि डेटा होस्टिङसम्म उसैलाई गर्न दिएका छन्, उनीहरू सबैभन्दा जोखिममा छन् किनभने त्यस्ता बैंकको कोर बैंकिङ सिस्टममा एफवान सफ्टका प्राविधिकहरू सजिलै पस्न सक्छन् ।’

नयाँ पत्रिका बाट