धरान, १६ जेठः नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलले धरान उपमहानगरपालिकाको २० नं. वडा स्थित विष्णुपादुकामा आयोजना गरेको प्रथम तरुण कप–२०७५ को फाइनल खेलमा स्वारा फुटबल क्लल विजयी भएको छ । शिरिसे फुटबल क्लबलाई १–० ले हराउंदै स्वाराले जीत हासिल गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक रहेको खेलको पहिलो हाफको २९ औं मिनेटमा स्वारा क्लबका नविन राईले आकर्षक गोल गर्दै टीमलाई १–० ले अग्रता दिलाएका थिए । त्यसपछि दुवैतर्फवाट धेरै पटक गोल गर्ने प्रयास भएतापनि गोल हुन नसकेपछि नविनको गोल नै निर्णायक बनेको हो । खेलको म्यान अफ दि म्याच पनि नविन नै भए । उनले नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेवाट रु. एक हजार नगद पुरस्कार प्राप्त गरे । विजयी टिमले नगद रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । दोश्रो हुनेले नगद रु. १५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । खेलको उत्कृष्ट खेलाडी स्वारा फुटबल क्लबका अर्पण राई, अत्याधिक ३ गोल गर्दै स्वाराकै प्रकाश राई हाईस्कोरर भए । त्यसैगरी शिरिसे फुटबल क्लका विपिन राई उत्कृष्ट गोलकिपर भए भने सांस्कृतिक फुटबल क्लबका किरण लिम्वु उत्कृष्ट डिफेन्स भए । तामाखाम फुटबल क्लब अनुशासित टीम बन्न सफल भए । विजयी टिम र उत्कृष्ट खेलाडीहरु सबैलाई प्रमुख अतिथि प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोले, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, धरान नगर सभापति तिलक राई, जिल्ला सदस्य पदम लिम्वु, धरान नगर सचिव श्याम पोखरेलले ट्रफी, मेडल र प्रमाण–पत्रले पुरस्कृत गरे । कार्यक्रममा प्रतियोगितालाई स्वस्थ प्रतिष्पर्धात्मक ढंगले सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेको भन्दै मुख्य रेफ्री विक्रम तामाङ, सहायक रेफ्रीहरु पासाङ राई र शंकर मगरलाई सम्मान पनि गरिएको छ ।
नेपाल तरुण दल धरान २० का सभापति प्रकाश राईको अध्यक्षतमा भएको कार्यक्रममा वक्ताहरुले स्थानीय खेलाडीहरुको फुटबल खेलप्रतिको आकर्षणलाई मध्यनजर गर्दै खेल मैदानको स्तरोन्नति, नियमित प्रशिक्षण र प्रतियोगिता आदिको व्यवस्था गर्न सम्बन्धित निकायहरुको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोले, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, धरान नगर सभापति तिलक राई, जिल्ला सदस्य पदम लिम्वु, धरान नगर सचिव श्याम पोखरेल लगायतले मन्तव्य राखेका थिए ।


































































