(एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। 

यतिबेला मिस वर्ल्डसँग जोडिएका सर्तहरुका कारण व्यस्त रहेकी मानुषीले आफूले बलिउडका लागि ढोका बन्द नगरेको बताएकी छिन्। उनका अनुसार, उनीभित्र एक अभिनेत्री लुकेको छ।

मानुषीले गत वर्ष चीनमा आयोजित भव्य कार्यक्रममा विश्व सुन्दरीको ताज पहिरेकी थिइन्। यसभन्दा डेढ दशक अगाडि प्रियंका चोपडाले सन् २००० र त्यसको एक वर्षअघि १९९९ मा युक्ता मुखीले विश्व सुन्दरीको उपाधि जितेका थिए। त्यस लगत्तै दुवै जना बलिउडमा प्रवेश गरेका थिए। त्यसअघि १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्या रायले पनि बलिउडमा बलियो कदम राखिन्।

मानुषीले भनेकी छिन्, 'म आफूभित्र रहेको अभिनेत्रीलाई महसुस गर्न सक्छु। एक डाक्टर र एक अभिनेत्रीमा समानता हुन्छन्। मेरो बुवा सधैं भन्नुहुन्छ, राम्रो डाक्टर बन्न तिमीले राम्रो अभिनेत्री बन्नुपर्छ। किनकि आधाजसो बिरामी त तपाईंको व्यवहारबाटै ठीक हुन्छन्।'

फिल्म खेल्ने सम्भावनाको ढोका खुला राखेकी उनलाई अहिलेसम्म कति वटा फिल्मबाट प्रस्ताव आयो त? यो प्रश्नमा मानुषी भन्छिन्, 'मैले अहिलेसम्म कुनै पनि अवसरलाई अस्वीकार गरेको छैन। अझै प्रतीक्षा जारी छ। मैले अहिले केही जिम्मेवारी पूरा गर्नु छ, सही समय आएपछि बलिउडको बारेमा फैसला लिनेछु।' 

त्यसो त केही समयअघि मानुषीले बलिउडमा आफ्नो प्रिय कलाकारबारे पनि बताएकी थिइन्। बलिउडका सबै कलाकार राम्रो भए पनि उनलाई आमिर खान र प्रियंका चोपडा उनलाई विशेष मन पर्छ। उनले फिल्म खेलेमा आमिरसँग काम गर्न रुचाउने इच्छा व्यक्त गरेकी थिइन्। 

उनले यसको कारण दिएकी थिइन्, 'उहाँ सामाजिक र प्रासंगिक फिल्महरु बनाउनुहुन्छ, त्यो लोभलाग्दो पाटो हो।'