धरान । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा शनिबार साँझ आयोजित टुबोर्ग मेगा लाइभ कन्सर्टको स्टेजमा गितार बजाउदै जब गायक दिपक बज्रचार्य उक्लिए, मैदानमा रहेका उनका प्रसंसकहरुको भिड चिच्याउन थालिहाल्यो । गायक बज्रचार्य नि के कम, प्रफ्फुलित मुद्रामा काली काली हिस्सी परेकी..भन्दै चर्चित गीत गाउदै प्रसंसकहरुलाई झन् उत्साह जगाइदिए ।
डेढ दशकको अन्तरालमा धरानको स्टेजमा देखा परेका गायक दिपक बज्राचार्यलाई सुन्न हजारौको भिड जम्मा भएको थियो । बेलुकी ५ बजे सुरु हुने भनिएपनि ७ बजेदेखि मात्र दर्शकहरुको भिड बढन थालेको थियो । गायक बज्रचार्यले ‘धरानमा त ८ बजेदेखि मात्र कन्सर्ट सुरु हुन्छ भन्ने सुनेको थिए साच्चै हो रैछ’ भन्दै आफ्ना गीतहरु गाउन सुरु गरे ।
उनले आफ्नो चर्चित गीतहरु काली काली हिस्सी परेकी..,ओ अमिरा..,मायाको डोरीले..,जाउ फर्केर जाउ.., म कुनै ऋतु हैन.., सानी.. र अहिले निक्कै चर्चामा आएको गीत मनमगन...लगायत एक दर्जन बढी गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्रमुग्ध पारे । उनको प्रस्तुतिमा उनका गीतहरुसंगै गितार,बाँसुरीको सम्मिश्रण थियो भने लाखे र धामीको आकर्षक नृत्यले पनि नौलो स्वाद दर्शकहरुले पाए । उनका हरेक गीतहरुमा आएको वान्स मोर को हुटिङ पाइरह्यो ।
कार्यक्रममा नेवा देय दबुको तर्फबाट नेवारी मौलिक संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सोही संस्थाले नेवारी संस्कृतिलाई आफ्नो संगीतमार्फत अन्र्तरास्ट्रीय स्तरमा पुर्याएको भन्दै गायक बज्राचार्यलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममो धरानका चर्चित गायक डिल्ली फोम्बोले बिम्क्स ब्याण्डको साथमा म माया लाउदिन, माइली, चिट्टिक, रातकी रानी लगायतका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै कथा काठमाण्डौंको प्रचारमा आएका रर्यापर बुलेट फ्लोको प्रस्तुति पनि रोचक रहेको थियो ।
कार्यकर्मको सञ्चालन इक्सा मादेन र सुरेश राइले गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा टुबोर्ग मेगा लाइभ कन्सर्टको दोस्रो संस्करण आयोजना भएको हो । गत बर्ष गायक एड्रियन प्रधान र धराने गायकहरुको प्रस्तुतिमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ आयोजना भएको थियो । यो बर्ष भने धरानमा शनिबार र पथरीमा माउन्ट एभरेस्ट स्पोट्र्स एण्ड इभेन्टको सहकार्यमा शुक्रबार मेगा लाइभ कन्सर्ट आयोजना भएको थियो ।