धरान : धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बिहिबार मिस प्लस टु दोस्रो सँस्करणका सहभागीहरुसँग आफ्नो अनुभवसहित अन्र्तक्रिया गरिन् ।
धरान १२, अमान बजारस्थित धरान फिटनेश क्लबमा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा कार्यवाहक प्रमुख भण्डारीले करिब एक घण्टा अनुभव बाँड्नुका साथै अन्र्तक्रिया गरेकी थिइन् । उनले महिला अधिकार, नेतृत्व, आत्मसुरक्षा, आत्मनिर्भरतालगायत समग्र बिषयमा आफ्नो अनुभवसहित विचारहरु सहभागीहरुसँग राखेकी थिइन् । महिलाहरुले पाएको अधिकार र स्वतन्त्रतालाई दुरुपयोग गर्न नहुनेतर्फ पनि उनले सहभागीहरुलाई सचेत गराइन् ।
कार्यवाहक प्रमुख भण्डारीको धारणा सुनिसकेपछि सहभागीहरुले जिज्ञासा राख्दै अन्र्तक्रियासमेत भएको थियो । सहभागीहरुले नगरको महिला, बालबालिकाको बजेट, कार्यक्रमहरु सबैको पहुँचमा पुग्ने वा जानकारी हुने व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यवाहक प्रमुख भण्डारीले नगरको बजेट पुस्तिका वेवसाइट वा उपमहागनरपालिकामा आएर लिन सकिने भन्दै सचेत नगरबासीहरुले आफ्नो वडा, क्षेत्रको बजेट, कार्यक्रमबारे चासो राख्नुपर्ने बताइन् ।
कार्यवाहक प्रमुख अघि युनि क्याम्पसका प्रोपाइटर गौरव शाक्यले वैदेशिक अध्ययनको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले कलेज र बिषय कसरी छनौट गर्ने, तयारी कसरी गर्ने भनेर जानकारी दिएका थिए । ‘विदेश पढ्न जाने लहर छ, त्यसैले यो बिषयमा पनि जानकारी गराउन आवश्यक ठान्यौं,’मिस प्लस टुका प्रचार संयोजक विकास चाम्लिङले भने ।
किसोरी छात्राहरुको व्यक्तित्व तथा क्षमता विकास गर्ने उद्देश्यले विग इभेन्ट प्रालिले मिस प्लस टु को दोस्रो सिजन आयोजना गरीरहेको छ । अडिशनबाट छनौट भएका २४ जना प्रतिस्पर्धी छात्राहरुलाई प्रालिले भदौ १३ गतेदेखि बन्द प्रशिक्षणमा राखिरहेको छ । फाइनल आगामी असोज १३ गते हुनेछ । कार्यक्रममा धरानमा कक्षा ११ र १२ अध्ययनरत तथा परीक्षा दिएर बसेका विभिन्न जिल्लाका छात्राहरु सहभागी छन् । सहभागीहरुलाई हिड्ने, बोल्ने र आफु कसरी प्रस्तुत हुने, सौन्दर्य कला, उद्घोषण, प्रभावकारी भाषण कला, व्यक्तित्व विकास, मानवअधिकार, महिला अधिकार तथा हिंसा विरुद्धको कानुन, महिला स्वास्थ्य तथा सरसफाई, छुवाछुत तथा जातीय भेदभावलगायत विविध बिषयमा विज्ञहरुद्धारा प्रशिक्षण भइरहेको छ ।

तस्बिर क्याप्सन : सहभागीहरुसँग अन्र्तक्रिया गर्दै धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी ।

aIMG_4371 aIMG_4372 aIMG_4368 aIMG_4375 aIMG_4383