अफगानिस्तानमा अमेरिका समर्थित सेनाविरुद्ध तालिबान र अरू लडाकु समूहका आक्रमणका खबरहरू प्रायः आइरहन्छन्। त्यहाँ हुने हमलामा ठूलो सङ्ख्यामा मानिसहरू मारिने गरेका खबर पनि दिनहुँजसो आउँछन्।
त्यहाँ गतिरोध जारी छ र युद्ध सकिने कुनै सङ्केत देखिँदैन । आखिर किन त्यस्तो भइरहेको छ त ? सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि हमला गर्दा त्यहाँको स्थिति अहिलेको जति खराब थिएन। १७ वर्षअघि तालिबानलाई च्युत गरिएको थियो।
तर अहिले आएर अझ बढी प्रान्तहरूमाथि उनीहरूको नियन्त्रण छ । अमेरिकी इतिहासलाई हेर्दा अफगानिस्तान युद्ध उसको लागि सबैभन्दा लामो युद्ध हो ।
समयसँगै सङ्घर्ष चर्किएको मात्रै छैन, बरू जटिल पनि हुँदै गएको छ । आक्रमण लगातार हुने गरेका छन्, त्यो पनि ठूलो स्तरमा र त्यसमा थुप्रै मानिसले ज्यान गुमाइरहेका छन् ।
तालिबान लडाकु र अमेरिका तथा उत्तर एट्लान्टिक सन्धि संगठन-नेटो समर्थित अफगान सरकार दुवै पक्षले प्रदेशहरूमाथिको आफ्नो पकड जमाउने प्रयत्न गर्दै आएका छन् ।
काबुलदेखि दक्षिणमा पर्ने रणनीतिक महत्त्वको गजनी प्रान्तको राजधानीमा गत अगस्ट १० मा तालिबान लडाकुहरूले धावा बोलेका थिए ।
अफगान सुरक्षा बल र हवाई हमलासँगै लडाकुहरू पछि हट्न बाध्य भए । मे १५ मा तालिबान लडाकुहरू इरानसँगको सीमा नजिकै पर्ने पश्चिमी फराह प्रान्तको राजधानी प्रवेश गरे ।
सरकारी फौजको आक्रमणबाट पछाडि हट्न लडाकुहरू बाध्य भइरहँदा कैयौँ मानिस मारिए र घाइते भए । अरू शहर र जिल्लाका केन्द्रहरू पनि तालिबान लडाकुको हमलाको खतरामा रहिआएका छन् । हेलमन्द र कान्दहार प्रान्तको ठूलो हिस्सामाथि तालिबानको नियन्त्रण छ ।
ती क्षेत्रमा अमेरिकी, ब्रिटिश र अरू देशका सेना मारिएका दृष्टान्त पनि छन् । त्यहाँ सर्वसाधारण मारिएको आँकडा पनि सानो छैन । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा १० हजारभन्दा बढी मानिसहरू मारिए र सन् २०१८ मा त्यो सङ्ख्या अझ बढ्नसक्छ ।
अफगानिस्तानमा सङ्घर्ष चर्किनुका पाँचवटा प्रमुख कारण छन्:
१. सरकारी फौज र लडाकु दुवै पक्षले आ-आफ्नो प्रभाव र थप क्षेत्रमा नियन्त्रण बढाउन प्रयत्नशील छन् ।
२. सन् २००१ को अमेरिकी रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाइएको छ। एक दशकअघि अमेरिका र अफगान सरकारले अफगानिस्तानमा १५ हजार लडाकु भएको अनुमान गरेका थिए । अहिले तिनीहरूको सङ्ख्या ६० हजार पुगिसकेको अनुमान छ ।
३. अफगानिस्तानमा इस्लामिक स्टेट समूहको उदयसँगै त्यहाँ हिंसा र बर्बरता बढेको छ। पछिल्ला हिंस्रक आक्रमणहरूको सोही समूहले जिम्मेवारी लिने गरेको छ ।
४. त्यसपछि वार्ताको कुराले महत्त्व पाएको हो। तर तालिबानले त्यसबाट फाइदा लिन चाहेको देखिन्छ ।
५. अमेरिका र अन्य देश (पाकिस्तान, रुस र इरान) बीचको तनावले नकारात्मक असर परेको छ । अमेरिकी र अफगान सरकारले ती तीनवटै मुलुकले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन् ।
समाचार तथा तस्बिर बिबिसि नेपाली सेवाबाट साभार गरिएको