धरान : पोखरेली ब्याण्ड कन्दराले करिब २ दशकअघि धरानको गणेश टाकिजमा लाइभ कन्सर्ट गरेको थियो । सोमबार साँझ पनि यो ब्याण्डको लाइभ कन्सर्ट थियो, धरानको पब्लिक स्कुलको मैदानमा । फरक के थियो भने त्यतिबेला बिहानै ८ बजे कन्सर्ट भएको थियो, यसपाली ठिक ८ बजे राती कन्सर्ट शुरु भयो ।


फरक यो पनि थियो कि २० बर्षअघि हलभित्र सिमित संख्यामा स्रोताहरु थिए, सोमबार भने मैदान भरिएको थियो । दुई दशकपछि धरान आउदा पनि आफ्ना फ्यानहरु झनै बढेको देखेर कन्दरा खुशीले पुलकित बनेको थियो । साना बच्चाहरुसमेत बोकेर राती कन्दरालाई लाइभ सुन्न धरानेहरु आएका थिए । त्यही लहरमा युवा, वृद्धाहरु पनि देखेपछि भोकलिष्ट विवेक श्रेष्ठले भने,‘धरान संगीतको उर्बर ठाउँ हो, राजधानी हो । म यहाँ ३ पुस्ता देखिरहेको छुँ, हामी असाध्यै खुशी छौं ।’

11 
लोक पप शैलीका गीतहरु पस्कने कन्दराले विदेशिएर गाइन् उनी..बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गर्यो । त्यसपछि, कता हिडेकी, कुन ठाउँमा..,भेडी गोठैमा..,चञ्चले कान्छीको जोवन..,फुलचोकीको डाडैमा..,प्रियसीको सम्झना..,तिमी पारी त्यो गाउँमा..,लेककी हे माया.., हङकङ पोखरा..’ चर्चित गीतहरु गाए । वान्स मोरको बर्षा भएपछि तगारोमा रुमाल राखी..र तिमी पारी त्यो गाउँमा..बोलको गीत नगाई धरै पाएनन्, अन्त्यमा पनि विवेकले गाइदिए । धरानेहरुले हरेक गीतमा ब्याण्डसँगसँगै गाएर, नाचेर साथ दिए । कन्दरा ब्याण्ड कतिसम्म जोशियो भने विवेकले बेला बेला फेसबुक लाइभ गरिरहन्थे ।
संखुवासभाका चर्चित लोकगायक खेमराज गुरुङलाई सम्झदै कन्दराले उनको गीत वारी जमुना पारी जमुना..पनि गाइदिए । यस्तै, अर्का चर्चित गायक राम थापाप्रति पनि समर्पित गर्दै लेकाली हो हो चोयाको डोको..बोलको गीत पनि गाए । दुवै गीतमा धरानेहरु कम्मर मर्काएर नाचे । धरानमा आउनु अघि कन्दराले असोज १२ गते शुक्रबार दमकमा र असोज १३ गते शनिबार बिर्तामोडमा पनि लाइभ कन्सर्ट गरेको थियो । कन्दराको लाइभ कन्सर्ट सिल्भर इन्टरटेनमेन्टको व्यावस्थापन र नेपाल आइस नेचुरा बियरको प्रायोजनमा कन्दरा लाइभ इन कन्सर्ट आयोजना भएको हो ।

 

2 1 3 4 7 569 13 10 8