धरान : गीत, संगीतको लागि उर्बर भुमी हो धरान । यहाँ बर्षमा थुप्रै सांगीतिक कार्यक्रम तथा लाइभ कन्सर्टहरु आयोजना भइरहन्छन् । गीत, संगीतप्रतिको धरानेहरुको क्रेज देखेर कलाकार तथा ब्याण्डहरु धरानमा कन्सर्ट आयोजना गर्न लालयित हुन्छन् । तर, धरानका संगीत पारखीहरुले नेपालको चर्चित ब्याण्डलाई लाइभ सुन्न, हेर्न नपाएको बषौं बितिसकेको छ ।
करिब १५ बर्षअघि धरानको पब्लिक स्कुल मैदानमा नेपथ्यलाई धरानेहरुले सुनेका थिए । धरानमा नेपथ्यको फ्यानहरु हजारौं छन् । सायदै कोही होलान्, नेपथ्यको गीत नसुन्ने युवा पुस्ता र वृद्धवृद्धाहरु पनि । लोक, पप र रक शैलीमा परम्परागत नेपाली मौलिक धुनहरुमा संगीत भरेर पस्कने नेपथ्यको बिशेषता हो । यही चर्चित ब्याण्डको करिब १५ बर्षपछि धरानमा लाइभ कन्सर्ट हुदैछ । धरान १८, बुद्धचोकस्थित मंगोलियन क्याफे(एमसि) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिक्रमा विद्यार्थी परिवारको संयोजनमा आगामी मंसिर ७ गते(नोभेम्बर २३ मा) धरानमा नेपथ्यको कन्सर्ट हुने भएको हो ।

nepathya- Kapuri


आयोजक संस्थाले धरानमा पत्रकार सम्मेलन गरेर कन्सर्ट धरान १६ स्थित रंगशालामा आयोजना गर्ने जानकारी दिएको छ । कन्सर्टको लागि निश्चित ५ हजार वटा मात्र टिकट छापिएको एमसिका प्रोपाइटर पुर्ण राईले जानकारी दिए । उनका अनुसार टिकट मुल्य एक हजार छ । तर, विद्यार्थीहरुलाई २५ प्रतिशत छुट दिइको छ । ‘नेपथ्यको कन्सर्ट धरानमा हुनु नै हाम्रो लागि गर्वको कुरा हो । यो कन्सर्ट रमाइलोको लागि मात्र गरिएको छैन । बीपीका विद्यार्थीहरुको परिक्रमा विद्यार्थी परिवारलाई रिसर्च सेन्टर स्थापना गर्न र धरान रनको नेवा एजुकेशन फण्डलाई आर्थिक सहयोग गर्ने उद्देश्यले पनि भएको हो,’राईले भने ।  परिक्रमाका अध्यक्ष सागर पन्थीले पनि विद्यार्थीहरुलाई अण्डर ग्रयाजुएट लेभलदेखि नै रिसर्चमा प्रोत्साहन गर्न रिसर्च सेन्टर स्थापना गर्ने तयारी भइरहेको बताए । ‘रिसर्चमा प्रोत्साहन गर्न फाउण्डेशन बनाउने तयारीमा छौं, हामी युजि लेभलका विद्यार्थीहरुलाई रिसर्चमा सपोर्ट गछौं । नेपथ्यको कन्सर्टबाट पनि सहयोग हुने कुराले ज्यादै खुशी छौं,’उनले भने । आयोजकहरुले पत्रकार सम्मेलनमा कन्सर्टको औपचारिकरुपमा टिकट र पोष्टर पनि सार्वजनिक गरेका थिए । धरान रनका अध्यक्ष रमु राईले नेपथ्यले पनि सामाजिक काम गर्दै आइरहेको र आफुहरु पनि विद्यार्थीहरुको शिक्षा, स्वास्थ्यसँग जोडिएर कार्यरत रहेकोले नेपथ्यको कन्सर्टबाट सहयोग पाउदा खुशी लागेको बताए ।