धरान : प्राकृतिक विपत आइपर्दा कसरी व्यवस्थापन गर्ने भनेर चेतना जगाउने उद्देश्यले सडक नाटक ‘विपत् ! विपत !! विपत !!!’ धरानका विभिन्न ९ स्थानमा प्रर्दशन भएको छ । आरम्भ नाट्य डबली, धरानले असोज २६ गतदेखि २८ गतेसम्म विपद् नाटक प्रर्दशन गरेको हो । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपतहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चेतना प्रवाह गर्न नाटक गरिएको आरम्भका अध्यक्ष गोपाल देवानले बताए । ‘हाँस्य अभिनयात्मक शैलीमा नाटक प्रर्दशन गरियो । नाटकले प्राकृतिक विपत मात्र होइन, मादक पदार्थ सेवन, लागु औषध प्रयोग, लापरवाहीपुर्वक सवारी चलदा र असावधनीले गर्दा हुने आगलागी जस्ता बिषयमा पनि चेतना प्रवाह भयो,’उनले भने ।

2 18


नाटक नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको आयोजना र स्थानीय विपत व्यवस्थापन समितिको संयोजनामा विभिन्न ८ वटा वडाहरुमा प्रर्दशन भएको थियो । आरम्भका अनुसार वडा ५, ८, ११, १३, १५, १६, १७ र २० का विभिन्न ९ स्थानमा प्रदर्शन भएको थियो । विपत् व्यवस्थापन अधिकृत शिवराम खड्का अनुसार नाटकले विपत जोखिम र त्यसको व्यवस्थापनबारे प्रभावकारी रुपमा सन्देश प्रवाह गर्न सफल रहेको बताए । ‘अन्य माध्यमभन्दा नाटकले लक्षित समुदायमा प्रत्यक्ष प्रभाव पर्दो रहेछ, हामीले जे सन्देश दिन खोजेका थियौं, आरम्भसँगको सहकार्यमा नाटक सफल भयो,’उनले भने ।
आरम्भका अध्यक्ष देवानले नाटकलाई नाटकीय तत्व र अभिनयलाई प्रमुखता दिई नाटकमा ‘फिजिकल थियटर’को शैलीलाई अवलम्वन गरिएको दाबी गरे । उनका अनुसार कलाकारहरुले नै घर, खाट र पलङजस्ता बस्तुहरु तयार गरेकोले नाटक थप प्रभावकारी हुन सकेको थियो । नाटकमा कलाकारहरु शान्तिराम राई (चटके), बाल कलाकार सिर्जित सुवेदी (जम्बुरे), शोभा लामिछाने (भूकम्पले परिवारका सबै सदस्य मारिएपछि विक्षिप्त बनेकी महिला), सबिना राई (बाढीपीडित महिला), तीर्थ विक, प्रकाश पोख्रेल (लागू औषध प्रयोगकर्ता–एडिक), कृष्ण तिम्सीना, पानस गुरुङ, प्रेम नेपाली (विपत् उद्धारकर्ता) र स्वतन्त्र कलाकार दिपेन्द्रसिंह दर्नाल (मत्थु युवक) ले सशक्त अभिनय गरेका थिए ।

3 13