धरान : अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।

अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी-२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन्।

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन्।

हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन्। यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक क्लबबाट २०१६–१७ मा प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए।

सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए।