धरान: नेवा साँस्कृतिक उत्थान मञ्चको आयोजनामा यही कार्तिक १२ गते धरानमा माता ‘पञ्चकुमारी नृत्य–२०७५’ प्रर्दशन गरिने भएको छ ।

नेवा देयः दबूः सुनसरीको संयोजन रहने पञ्चकुमारी नृत्य नेवारी संग्रहालय भवन बनाउने उद्देश्यले आयोजना गरिन लागेको आयोजकले जनाएको छ । सोमबार धरानको भानुचोकमा प्रस्तुत गरिने नृत्य नेवारी सँस्कृतिमा आधारित पौराणिक अति दुर्लभ चर्या नृत्य महामञ्जुश्री, कौमारी, काली, भैरव, बज्रयोगिनी नृत्य प्रस्तुत हुने मुल संयोजक विश्वबन्धु तमोटले जानकारी दिए । यस्तै, विविध आधुनिक जनजातिय नृत्य, गायन, बाँसुरीको धुनले पनि धरानलाई सँस्कृतिमय बनाइने उनले बताए ।

लोप हुदै गएको नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक मञ्चकी अध्यक्ष चन्द्र हलुवाइले बताइन् । उनका अनुसार पञ्चकुमारी नृत्य धरान विजयपुरस्थित पञ्चकन्या मन्दिरबाट साभार गरी नेवारी विधिअनुसार पञ्चकुमारी बनाई प्रत्येक साल नयाँ नयाँ लोकतालहरुमा प्रस्तुत गर्दै आइरहेको छ । यस्तै, अति महंगो र दुर्भल चर्या नृत्य महामञ्जुश्रीले काष्ठमण्ड उपत्यकामा रहेको दहलाई चोभार डाँडामा बसेर छेदन गरी उपत्यकामा नगर बसाएको सम्झनामा तयार गरिन्छ । कार्यक्रममा विभिन्न जातिहरु गुरुंग, मगर, राई, लिम्बु, थारु, राउटे आदिको पनि प्रस्तुत हुने हलवाईले बताइन् ।

44869170_1142163942628733_4616154334898421760_n copy