तेह्रथुम : तेह्रथुममा जिल्लाकै सर्बाधिक राशीको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
हरेक वर्षको तिहारमा आठराई गाउँपालिका–५, छातेढुंगामा लाग्दै आएको दिपावली मेलाको अवसरमा सर्वाधिक राशीको फुटबल सञ्चालन हुने भएको हो । उक्त मेलामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल र अन्य आकर्षक खेलकुद, सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रमहरु सन्चालन हुने भएको हो । ०३९ सालदेखि हरेक वर्ष तिहारको भाइटिकाको पर्सी पल्टबाट सञ्चालन हुने पुर्वमै प्रसिद्ध दिपावली मेला यो वर्ष पनि कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म लाग्ने भएको छ ।
मेलाका अवसरमा आयोजित भगवती खुला पुरुष फुटबल प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । यस्तै प्रतियोगितामा उपविजेता हुनेले ८० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । मेलाका अवसरमा यो वर्षपनि महिला फुटबल, पुरुष भलिबल, व्याडमिन्टन, बुद्धिचाल, धान नाच र लोक नृत्य प्रतियोगिता तथा बहुभाषिक कवि गोष्ठी सञ्चालन हुने आयोजक दिपावली मेला समितिले जनाएको छ । मेला सन्चालनले यस क्षेत्रको खेलकुद प्रवद्र्धन र पर्यटन विकास साथै आर्थिक समृद्धिका लागि सहयोग पु¥याउदै आएको सरोकारवालाहरु बताउँछन् ।
मेला सञ्चालनका लागि ठुलो श्रोत र कोष नभएपनि मेलाको निरन्तरतामा स्थानीयले जोड दिदै आएका छन् । वि.स. २०३९ सालमा पाँचथरको अमरपुर बस्ने रामकुमार लिङदेन र नगेन्द्र लिङदेनले स्थापना गरिदिएको २ लाख रुपैयाँको कोष नै मेला सञ्चालनको मुख्य श्रोत रहेको मेला सन्चालनका अगुवा तथा प्रदेश सभा सदस्य तेजमान कन्दङवाले बताए ।
मेलाका अवसरमा हरेक वर्ष खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । मेलाले आठराई क्षेत्रको खेल प्रवद्र्धनमा सहयोग पुगेको प्रदेश सांसद कन्दङवाको भनाई छ । मेला र खेलकुद कार्यक्रमकै कारण छातेढुंगा र आठराई क्षेत्र खेलकुदमा जिल्लाकै अग्रणी ठहर्दै आएको छ ।
यो वर्षपनि मेलाका अवसरमा स्व.नारायण प्रसाद, ईश्वरा देवी संग्रौला मेमोरियल खुल्ला रनिङ् ट्रफी पुरुष भलिवल प्रतियोगिता सन्चालन हुने भएको छ । सो प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक तथा आठराई गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले बताउनुभयो ।
महेन्द्र कन्दङवा स्मृति महिला फूटवल तर्फ विजेतालाई ४० हजार र उपविजेतालाई २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै व्याडमिन्टन सिंगल र डबलका लागि क्रमशः विजेता र उपविजेतालाई ५ हजार र ३ हजार तथा ७ हजार र ५ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने मेला समितिले जनाएको छ ।
लोक संस्कृतिको जगेर्ना गर्ने ध्येयले आयोजित धान नाच प्रतियोगितामा पनि विजेता र उपविजेतालाई ७ हजार र ५ हजार रुपैयाँसहित पुरस्कृत गरिने जनाइएको छ । स्वीस लिगबाट सन्चालन हुने बुद्धिचाल प्रतियोगितामा एकमुष्ट ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । मेलाका अवसरमा कात्तिक २७ गते बहुभाषिक कवि गोष्ठी र आठराई गाउँपालिकाका वडास्तरीय लोकनृत्य प्रतियोगिता समेत सन्चालन हुनेछ ।
लोक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमशः नगद १५, १२ र ८ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । साथै सबै सहभागीहरुलाई नगद रु. ५ हजार रुपैयाँ दिइनेछ । कात्तिक २६ गतेबाट सुरु हुने मेलाको पहिलो दिन विभिन्न जातजातिका झाँकीहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।