धरान : चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा टप १० र टप २० बाट बाहिरिएका दुई प्रतियोगीहरुले धरानमा प्रस्तुती दिने भएका छन् ।

टप १० बाट बाहिरिएकी इटहरी निवासी जेस्मी लिम्बू र टप २० बाट बाहिरिएका मोरङ, गछियाका मिलन परियारले धरानमा सांगीतिक प्रस्तुति दिने भएका हुन् । उनीहरुलाई धरान ९ पुतलीलाइनस्थित फ्रेण्ड्स गार्डेन लाउञ्ज एण्ड बारले धरानेहरुमाझमा प्रस्तुत गर्न लागेको हो । फ्रेण्ड्स गार्डेनका अनुसार पहिलो कार्यक्रम कार्तिक १६ गते शुक्रबार मिलनको सांगीतिक प्रस्तुति हुनेछ ।

उनी नेपाल आइडलको दोस्रो संस्करणमा धरान अडिसनबाट बाहिरिएपछि पनि पुनः काठमाडौं अडिसनबाट छनौट भएका थिए । आइडलमा राम्रो प्रस्तुति दिएर चर्चा कमाएका उनी क्यारिकेचरमा पनि खप्पिस छन् । टप २०बाट बाहिरिएका मिलन वाइल्ड कार्डका लागि समेत छानिएका थिए । धरानमा प्रस्तुति दिन लागेका मिलन भन्छन् ‘धरानमा पहिलोपटक गाउन लाग्दा उत्साहित छु । धरानवासीलाई नचाउने र हँसाउने छु ।’
यस्तै, दोस्रो कार्यक्रम कार्तिक २२ गते(भाईटिकाको अघिल्लो दिन) टप १० पुगेकी इटहरीकी जेस्मी लिम्बूको प्रस्तुती हुनेछ । उनी पनि आइडलको धरान अडिसनबाट छानिएर टप ६० बाट बाहिरिएकी थिईन् । तर, वाइल्ड कार्डमार्फत पुनः नेपाल आइडलमा प्रवेश पाएकी उनी टप १० बाट बाहिरिईन् ।
दैनिक मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको फ्रेन्ड्स गार्डेनले आफ्ना ग्राहकहरुलाई विभिन्न मनोरञ्जन दिनका लागि फरक फरक प्रस्तुति दिने फ्रेन्ड्स गार्डेनका म्यानेजर रोशन प्रधान बताउँछन् । भन्छन् ‘ग्राहकहरुलाई रमाईलो गराउन अझै योजना ल्याउँदै छौं ।’