धरान: २० औं छिमेकी साँझ सोमबार भव्यरुपमा धरान १२ स्थित चतरालाइनमा आयोजना हुने भएको छ ।

हरेक बर्ष आयोजना हुदै आएको छिमेकी साँझ विगत ३ बर्षदेखि भने हुन सकेको थिएन । यो बर्ष पृथक शैलीमा आयोजना हुने आयोजक छिमेकी युवा समुहका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । उनले भने,‘२० औं सँस्करणलाई हामी फरक तरिकाले आयोजना गर्दैछौं ।’ कार्यक्रममा युवा प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर दिइने उनले बताए ।

यसपाली आयोजकले गायन प्रतिभाहरुको खोजी गरेको छ । धरान संगीत प्रतिष्ठानसँग सहकार्य गरेर आयोजकले ६ जना फाइनल प्रतिस्पर्धीहरु छनौट गरिसकेको छ । सोमबार छिमेकी साँझ कार्यक्रममा ती प्रतिस्पर्धीहरुसँगै अन्य चर्चित कलाकारहरुले पनि प्रस्तुती दिनेछन् । कार्यक्रममा चर्चित कलाकारहरु मेलिना राई, शिव लामिछाने, प्रश्ना शाक्यलगायतको पनि प्रस्तुती हुनेछ । कार्यक्रम संयोजक सरोज भटराईका अनुसार एक जना विजेतालाई राइजिङ स्टारको उपाधिसहित नगद २५ हजार र ट्रफी दिइनेछ । ‘धरानभरिका ७०, ८० जना कलाकारहरु अडिशनमा सहभागी थिए, ६ जना छनौट भएका छन्,’उनले भने ।

IMG_20181104_121704 copy

राइजिङ स्टारको लागि छनौट भएका प्रतिभाहरुमा धरान ८ की प्रिया तामाङ, धरान १७ की इसा तामाङ, धरान १६ की संगीता लिम्बू, धरान १ की भरोसा सुवेदी, बराहक्षेत्र १ की गोमा कुलुङ र धरान १७ का दिपेश इसारा राई रहेका छन् । सोही कार्यक्रममा ज्येष्ठ नागरिक ८५ बर्षका राजेन्द्र आचार्य, ८८ बर्षीय इन्दिरा हलवाईसँगै २०३५ सालमा छिमेकी ११ फुटबल टिमबाट त्रिभुवन कप विजेता खेलाडीद्धय विरु राई र कुमार सुब्बालाई पनि सम्मान गरिने पनि आयोजकले जनाएको छ ।