धरान : नेपाली संगीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास बर्षको उपलक्ष्यमा नेपाल क्लब हङकङले दीप श्रेष्ठ स्वर्णिम साँझ २०१८ आगामी डिसेम्बर ३० मा हङकङको यामुताइ कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । बुधबार हङकङ स्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लब हङकङकि अध्यक्ष रिता गुरुङले भब्य रुपमा आयोजना हुने कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूह सहित आफ्ना नँया तथा पुराना गीतहरु गाएर आफ्नो ५० औं सांगीतिक उत्सव हङकङबासी नेपालीहरुमाझ प्रस्तुत गर्ने दिएकी हुन् ।


पूर्वी नेपालको धरानका स्थायी बासिन्दा दीप श्रेष्ठले १४ बर्षको उमेरदेखि नै पूर्वमा हुने बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा भाग लीइरहन्थे । यसै क्रममा २०२५ साल पुष महिनामा सांस्कृतिक कार्यक्रम लिएर धरानबाट काठमाडौं पुगेका दीप श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालिन राजा महेन्द्रका सामु गीत गाउने अवसर पाएका थिए । उनको गायन कलाबाट मोहित राजा महेन्द्रले तत्कालै आफुले मन लागेजती गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिए । त्यो समयमा रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले म पत्थरको देउता होइन लगायत ६ वटा गीतहरु रेकर्ड गराए ,जुन निकै लोकप्रिय भए ।


त्यसपछि पछाडी फर्कनु नपरेको बरिष्ठ गायक श्रेष्ठले अहिले २०७५ सालमा आफ्नो सांगीतिक आरोह अवरोह पार गरेको पंचास बर्ष लागिसकेको छ । म त दुरदेखि, बिधुवाको सिउँदो, हर रात सपनीमा, मेरो आँखामा, बितेका कुराले, कति कम्जोर रहेछ भाग्य, झिरमा उनिनु, भन्थिन मेरी उनि, हुँ यात्री म एउटा लगायतका थुप्रै कालजयी गीतहरुमा उनको स्वर/संगीत रहेको छ । गायक श्रेष्ठलार्इ युगल गीतहरुमा साथ दिन उनकी छोरी गायिका दृस्टी श्रेष्ठ र उद्घोषणमा मिस पुर्वान्चल २०१६ र मिस ग्रान्ड इन्टरनेसनल नेपाल को फर्स्ट रनरअप इक्सा मादेन सहभागी हुनेछिन। गायक दीप श्रेष्ठको सांगीतिक क्षेत्रमा योगदान दिएको ५० औं बर्षगाँठलार्इ आयोजक नेपाल क्लब हङकङको बार्षिकोत्सवको अवसरमा आयोजना गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनुहुदै अध्यक्ष रिता गुरुङले कार्यक्रम हङकङबासी नेपाली संगीतप्रेमीहरु माझ बिशेष र स्मरणीय हुने बताउनुभयो ।