इटहरी: भारतीय च्यानल जी टिभीको सारेगमपाको लिटिल चैम्समा भ्वाइस टेष्ट उत्तीर्ण गरि प्रतियोगितामा सहभागी हुन जाने तयारीमा रहेका ११ बर्षीय प्रीतम आचार्यलाई सम्मान गरिएको छ ।

प्रतियोगिताका लागि छनौट भएका आचार्यलाई एक कार्यक्रमको आयोजना गरी इटहरीमा सम्मान गरिएको हो । विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यननरत इटहरी ५ का बालक आचार्यलाई पाथीभरा डिजिटल रेकडिगं र नेक्सस ब्याण्डले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि इटहरीका पुराना सर्जक चण्डिका निरौलाले नेपाली टोली लगाएर सम्मान गरेका थिए ।

प्रतियोगितामा छनौट भएका आचार्यलाई उनका संगीत गुरु भुपेन्द्र राईलगायतले सम्मान तथा शुभकामना दिएका थिए । कार्यक्रममा बाल गायक आचार्यका बाबु काशीनाथ आचार्यले उनको गीत,संगितका विषयमा जानकारी गराएका थिए । बाल प्रतियोगीलाई सम्मान तथा हौसाला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पाथिभाराकी संचालिका सुनिता कटुवालले बताइन । कार्यक्रममा संगीत साधाना महाविद्यालयका महासचिव राजु केसी, विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमिरे, प्राचार्य गणेश दुलाल, कलाकारहरु भाइसन वर्देवा, बावुराम प्रधानलगायतको सहभागिता रहेको थियो । बाल गायक आचार्यले सुरशाला आइडलमा समेत फष्ट रनरअप भएका थिए ।