झापा: अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा चिरञ्जीवी अधिकारी र विराज बास्कोटाले ८ लाख बढीको लागतमा अर्जुनधाराकै तीन स्थानमा आर्ट एकाडेमीको स्थापना गरेका छन् । सांस्कृतिक रुपान्तरणमार्फत समाज परिवर्तन गर्ने लक्ष्य लिएर नृत्य, अभिनय र गायन सम्बन्धी प्रशिक्षण दिन अर्जुनधारा १० स्थित कालीस्थान, कप्तानवाडी र लक्ष्मीपुरमा ॐकार एकाडेमीको स्थापना गरेका हुन् । शनिबार एकाडेमीको उद्घाटन गर्दै मेयर हरिकुमार रानाले संस्कृतिलाई हिंसाविरोधी कार्यतर्फ उन्मुख गराउनुपर्ने धारणा राखे । वडा नं १० का अध्यक्ष बलदेव गोम्देन, कालीस्थान मा.वि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाईंलगायतले पनि शुभकामना मन्तब्य राखेका थिए । विराज बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश चिरञ्जीवी अधिकारीले पार्नुभएको थियो भने सञ्चालन पुष्प तिवारीले गरेका थिए । कार्यक्रममा सुपर डान्स इन्डियाको टि.भि. राउण्डमा पुग्न सफल अर्जुनधाराकै लिसारा थापा मगर, पूर्वाञ्चल आइडल विसम आचार्य, लेट मी डान्स नेपालको फस्ट रनर अप अनिशा ओलीलगायतका कलाकारले आकर्षक प्रस्तुती दिएका थिए ।