धरानः मिस वल्र्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा सिंगापुरकी भानेसा पेहलेसँग नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् ।

हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासँगको प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यो प्रतिस्पर्धामा जितेको भए नेपालकी श्रृंखला टप ३० मा पुग्न सक्नेथिइन् । तर, उनले मौका गुमाइन् । हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।

हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि उनले बताइन् । ‘९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ । भविष्यको योजना केही प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थिया,े मैले त्यसमै फोकस गर्न खोजेँ । भिडियो हेरेर मैले महसुस गरिसकेँ । सिंगापुरले डिजर्भ गरेको थियो,’ उनले भनेकी छन्,भावुक बन्दै श्रृंखलाले भनिन्,‘यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्ने मात्रै सोच्न आउँछ । नेपाल आएर धेरै काम गर्न आउँछ ।’

अझै पनि सम्भावना बाँकी छ

हेड टु हेड प्रतिस्पर्धामा पराजित भएपनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउने अझै सम्भावना भने बाँकी छ । हेड टु हेड समाप्त भएसँगै टप ३० का १३ वटा सिट भरिएको छ भने श्रृंखलाले बाँकी रहेको १७ सिटमा प्रतिस्पर्धा गर्नुपर्नेछ । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा हुन्छ । आउँदो ८ डिसेम्बर (फाइनलम)सम्म भोटिङ खुला रहन्छ ।