धरान: विद्यार्थी उमेरमा पढ्ने समयलाई सदुपयोग नगर्दा र अभिभावकले आफ्नो छोराछोरीलाई समय नदिदाको परिणाम के भोग्नु पर्ला ? आम विद्यार्थीहरुलाई शिक्षा र समयको महत्वबारे बुझाउने गरी बनेको नेपाली कथानक चलचित्र समयको धरानमा बिशेष शो(प्रर्दशनी) हुने भएको छ ।

चलचित्र टिमले बुधबार धरान ९ स्थित फ्रेण्डस् गार्डेनमा पत्रकार सम्मेलन गर्दै मंसिर २३ गते धरानस्थित गोर्खा डिपोर्टमेन्टको फिल्महलमा बिशेष शो गर्ने जानकारी दिएको छ भने मुख्य कलाकार शैव श्रेष्ठ अध्ययनतर धरानको विष्णु मेमोरियल हाइस्कुलमा २३ गते पनि शो हुने जानकारी दिएको छ । यस्तै, मंसिर २४ गते धरानकै युरेका उच्चमाविमा पनि विद्यार्थीहरुलाई लक्षित गरेर चलचित्र शो गरिने कार्यकारी निर्माता एवं कलाकार विशाल श्रेष्ठले जानकारी दिए । ‘समयमा शिक्षालाई नबुझ्दाके समस्या हुन्छ ? शिक्षा विनाको मान्छे के हुन्छ ? यो चलचित्रको मुख्य बिषयबस्तु नै यसमा घुमेको छ ,’श्रेष्ठले भने,‘विद्यार्थीहरुलाई शिक्षा र समयको महत्वबारे बुझाउने चलचित्र भएकोले विद्यालयमा पनि बिशेष शोहरु आयोजना गर्दैछौं ।’

यो चलचित्रको निर्देशन चर्चित निर्देशक सुरेन्द्र शाहले गरेका छन् । चलचित्रमा १४ बर्षीय शैव श्रेष्ठ, मानिका दाहाल, सुरेन्द्र शाह, विशाल श्रेष्ठलगायतको मुख्य भुमिका रहेको छ । निर्देशक शाहका अनुसार विद्यार्थी जीवनमा शिक्षाको महत्व बुझ्नुपर्छ र अभिभावकले पनि आफ्नो छोराछोरीलाई समय दिनुपर्छ भन्ने महत्वपुर्ण सन्देश यो चलचित्रले बोकेको छ । ‘विद्यार्थी, शिक्षक, अभिभावकहरुको लागि अत्यन्तै उपयोगी फिल्म बनेको छ । विद्यार्थीले समयमा शिक्षालाई नबुझ्दा र अभिभावकले पनि छोराछोरीलाई समय नदिदाको परिणाम कस्तो हुन्छ भनेर प्रस्ततु गरेका छौ,’निर्देशक शाहले भने,‘चलचित्र राम्रो बनेको छ, सेन्सर बोर्डले पनि युनिर्भसलको सर्टिफिकेट दियो । हामीले २ वटा विद्यालय र सुटिङ भएको ठाउँमा शो गर्यौ, धेरै पोजेटिभ कुरा आएकोले उत्साहित छौ ।’ यो चलचित्रको कार्यकारी निर्माता बिशाल श्रेष्ठ र शर्मिला श्रेष्ठ हुन् भने निर्माता जोशी कुमार ‘बेल्जिमयम’ हुन् । कथा डि.के.ढुंगानाले लेखेको फिल्ममा गीत राम रुवाली ‘अष्ट्रेलिया’ले लेखेका छन् भने संगीत राजेशकुमार श्रेष्ठले भरेका छन् । चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् ।