इटहरी: दोस्रो तरहरा एसिसिअन्तर्गत भएको फाइनल खेलमा छात्रतर्फ हिमशिखर इङ्लिस स्कुलले उपाधि जितेको छ ।
प्रतियोगितामा तरहरा मोडेल एकेडेमी उपविजेता बनेको छ । पूर्वाञ्चल बोर्डिङ तृतीय भएको थियो भने ज्ञानदर्पण एकेडेमी सान्त्वना भयो । बिजेता टीमले क्रमश ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थिो । छात्रातर्फ भएको खेलमा पनि हिमशिखर इङ्लिस नै विजेता बन्न सफल भयो भने ज्ञानदर्पण एकेडेमी उपविजेता भयो । त्यस्तै, प्याराडाइस बोर्डिङ स्कुल तृतीय भयो भने तरहरा मोडेल एकेडेमी सान्त्वना भयो । उनीहरुले क्रमश ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका थिए । उक्त खेलमा हिमशिखरका बादल राई बेष्ट लिफ्टर घोषित भए । त्यस्तै, हिमशिखरकै कविन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने तरहरा मोडेलका विवेक तामाङ बेष्ट डिफेन्स घोषित भएका थिए ।
२०७३ सालमा तरहरा एरिया कोअर्डिनेसन स्कुल (एसिसि) स्थापना गरि यहाँ रहेका विद्यालयहरुबीच सकारात्मक सम्बन्ध स्थापित गर्नका लागि तथा विद्यार्थीहरुमा रहेको क्षमता अभिबृद्धि गर्न गत बर्षबाट भलिबल खेलको सुरुवात गरिएको एसिसिका अध्यक्ष रमेश कार्कीले बताए । आगामी दिनमा समेत निरन्तर रुपमा विद्यार्थीको क्षमता अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम संयोजक तथा तरहरा एसिसिका सचिव सन्तोष कटवालले यहाँ रहेका विद्यालयहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्नका लागि संगठन स्थापना गरि कार्यक्रम गर्दै आएको बताए । उनले विद्यार्थीहरुले कक्षाको किताबमा मात्रै नभई बाहिरी कुराबाट पनि सिकाई सिक्ने बताउँदै खेलको क्षेत्रबाट सम्बन्ध समेत स्थापित गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि भलिबल संघ प्रदेश १ का अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विश्व धिमालले विद्यालयको सहकार्यमा विद्यार्थीहरुलाई भलिवल खेल आयोजना गर्नु सराहनीय रहेको भन्दै प्रशंसा गरे ।


































































