धरान: धराने गायक प्रकाश पौडेलले नाई मलाई त्यही केटी चाहिन्छ..बोलको गीतबाट रुञ्चे गायकको परिचय बनाएका थिए । यो गीतले उनलाई चर्चाको चुलीमा पुर्याएको थियो ।

अहिले फेरी तिनै गायक पौडेलले नयाँ गीतको म्युजिक भिडियो तयार गरेका छन् । यो गीतको बोल पनि अलि अनौठो खालको छ, 'आची खाउ' । सामान्यतया नेपाली समाजमा बालबच्चालाई दिसालाई आची भन्ने चलन छ । तर, यो गीतमा भनिएको आची त्यस्तो होइन । गायक पौडेलको भनाईमा 'आची खाउ'को मतलब भनेको 'आलु चिउरा खाउ' भन्ने हो । यो नयाँ गीतको म्युजिक भिडियो शुक्रबार बुढासुब्बा म्युजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गत दशैमा यो गीतको छाँयाकंन धरानमा भएको थियो । गीतले पेट लागेका भुँडेको पीडालाई प्रस्तुत गरिएको छ । पौडेलले भने, 'अचेल पेट लागेको मान्छेलाई कस्तो समस्या हुन्छ, कति अपमान वा मानसिक तनाव झेल्नुपर्छ भन्ने कुरा गीतले बोलेको छ ।' यो गीतको शब्द धरानका पत्रकार गोपाल दाहालले लेखेका हुन् भने दिपराज न्योङ्हाङले सङ्गीत भरेका छन् । गीतमा गायक पौडेलले स्वर दिएका छन् भने उनलाई मुना पाख्रिनले साथ दिएकी छिन् ।

IMG_20181016_103519 copy

लामो समयदेखि गायक पौडेल युएईमा सेन्चुरी बैंक अन्तर्गत क्षेत्रीय प्रमुखका रुपमा कार्यरत छन् । यो गीतको भिडियोको निर्देशन उनी आफैले गरेका छन् । भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, अस्टर तामाङ, पत्रकार विराट अनुपम, नविन विशाललगायतको अभिनय रहेको छ । भिडियोमा युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । गायक पौडेलको नाइ मलाई त्यही केटी चाहिन्छसँगै डाक्टर साब भिटामिन लेख्दिनुस न, तितेपाती तितेपाती झ्याप झ्याप..लगायतका गीत चर्चित छन् ।