धरान: पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वाञ्चलको नवौ संस्करण सुरु भएको छ । अनलाइन तथा एसएमएसबाट प्राप्त फर्मबाट छानिएका प्रतियोगीहरुलाई आयोजकले धरानमा अडिशन लिएको थियो ।

उक्त अडिसनबाट नेपालआईस मिस पुर्वाञ्चल २०१८ को लागि १४ जना युवतीहरु छनोट गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि छनौट भएका १४ जना प्रतियोगीहरुलाई हाल प्रशिक्षकद्धय राजबिमल श्रेष्ठ र रबिन्द्र थापाले लिडरशिप, मोटिभेशन सम्बन्धि प्रशिक्षण दिइरहेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । प्रतियोगिताको लागि कोरियोग्राफर तथा प्रशिक्षक रहेकी प्रियारानी लामाले व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क लगायातको तालिम दिएर फाइनलमा सहभागी गराउने आयोजकले जनाएको छ ।

मिस पुर्वान्चलको नवौ संस्करण आउदो पौष १४ गते शनिबार धरान स्थित होटल इजी राइड्रसको मैदानमा हुने भएको छ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । गत बर्ष झैँ यो बर्षपनि बिना अडिसन मिस उर्लाबारी र मिस इटहरीलाई प्रतिस्प्रधाकालागि सोझै प्रवेश गराईएको छ ।

मिस इटहरी २०१७ तपस्या रनपेइली, मिस उर्लाबारी २०१७ रुसाली केसी, हिलेकी प्रजिता तामांगसंगै उर्लाबारीको सबिना पोदार, तरहराको तुलाशा पोख्रेल, भद्रपुरबाट पूजा श्रेष्ठ, संखुवासभाबाट सोनेता दाहाल, धरानबाट आकृति आचार्य, एजिना राई, अनिला क्षेत्री, सुचित्रा कार्की, बिराटनगरबाट मोनिका रेग्मी, धनकुटाबाट स्वस्तिका बिसुंखे, बिर्तामोडबाट सलिना राजबंशी मिस पुर्वान्चल २०१८ मा सहभागी छन्।

कम्तिमा १२ कक्षा पढ्दै गरेका युवतीहरु सहभागी गराइने नेपाल आईस नेचुरा‘मिस पुर्वाञ्चल’को नवौ संस्करणको लागि अनलाइन तथा एसएमएसबाट सय जना भन्दा बढीको आवेदन आएको आयोजकले जनाएको छ । सहभागीहरुलाई रक्तदान, ट्राफिक सचेतना, पर्यटन, सामाजिक सचेतना सद्भाव जगाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ । अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहाको स्कुटी र र हंगकंग भ्रमणको अवसर दिईने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टी मिडिया , मिस इन्टलेक्चुअल ,फेस अफ डिभाइन , भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विधामासमेत प्रतियोगीहरुलाई १५ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा तथा बराह ज्वेलरी इन्ड्रस्ट्रिज़ प्रा.लि.को प्रस्तुति तथा नेपालआइस बियरको मुख्य प्रयोजन र एनआइसी एसिया बैंक, डिभाइन वाइन, पुर्वान्चल लुब्रिकेन्ट्स, एम ए डब्लु इन्टरप्राइजेज, सुबिसु केवल, बुद्ध एयर, युएन नवोदय कलेज, बरुण बेभरेज, क्विक्स र वाईवाईको प्रायोजन मिस पुर्वाञ्चल २०१८ मा रहेको छ । मिस पूर्वाञ्चलको उपाधि अहिलेसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङ, २०१३ मा नेहा बजाज, २०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ, २०१६ मा कृतिका गिरी र २०१७ मा रुबी लिम्बुले जितेकी थिइन् ।