तेह्रथुम: तेह्रथुममा सामुदायिक बन उपभोक्ता महासंघ(फेकोफन)ले तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजना सन्चालन गर्ने भएको छ ।
विश्व बन्यजन्तु कोषको सहयोगमा सन्चालित उक्त आयोजना अन्तर्गत म्याङलुङ र लालीगुराँस नगरपालिका, फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिकाको जैविक विविधता संरक्षण, सांस्कृतिक, धार्मिक एवम् वातावरणीय संरक्षण र विकास गर्दै ग्रामीण पर्यापर्यटनको विकासमा सहयोग पु¥याउने जनाएको छ ।
विभिन्न सामुदायिक बन समुहमार्फत यो वर्ष नर्सरी स्थापना, वृक्षरोपण, सामुदायिक बन गठन, प्रवर्धन र बन संरक्षण सम्बन्धी सचेतना फैलाउने कार्यक्रम रहेको फेकोफनका जिल्ला अध्यक्ष गणेश सेनेहाङले जानकारी दिए ।
आयोजनाका बारेमा सुरुवाति जानकारी दिन आयोजित गोष्ठीमा प्रदेश सभा सदस्य तेजमान कन्दङवा, जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमलता गौतम, म्याङलुङ नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगायतले आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सन्चालन गर्न शुभेच्छा प्रकट गरे ।


































































