धरान : धनकुटाको आठपहरीया राई मनाउने ‘वाडाङमी’ र खाल्सा क्षेत्रका राई जातीले मनाउने ‘पापानी’ चाड धरानमा पनि धुमधामका साथ मनाइदै छ ।

किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१९ को आयोजनामा वडाको जिमी चोकमा आठपहरीया राई जातिको ‘वाडाङमी’ र खाल्सा क्षेत्रका राई जाती भित्रको नाछिरिङ समुदायले मनाउने ‘पापानी’ पर्व शुक्रबारदेखि मनाउन शुरु गरिएको हो । तीन दिनसम्म मनाइने यो पर्व एक समारोहबीच शुक्रबार वडा १९ का अध्यक्ष पुर्ण लिम्बूले गरे ।

राई जाती भित्रको पनि ‘नाछिरिङ’ समुदायले मंसिरे पूर्णिमाको उधौली पर्व अर्थात नयाँवाली भित्राउने खुशियालीमा यो पर्व प्रचलन रहेको किराया प्राकास धरान–१९ का अध्यक्ष मेघराज राईले बताए । आठपहरीया समुदायले वाडाङमी पर्व खुशियालीमा मनाउँछन् । धनुकटाबाट १७ जनाको कलाकार टोली शनिबार जिमी चोक आएर आइतबारसम्म नाचगान गर्ने कार्यक्रम रहेको छ ।

2 1

लोप हुदै गरेको संस्कृतिको जगेर्ना गर्न मंसिर पूर्णिमा उधौलीको अवसरमा गत वर्षदेखि यो चाड मनाइदै आएको किराया प्राकास धरान–१९ का अध्यक्ष मेघराज राईले बताए । ‘यो संस्कृति लोप हुँदै गएकोले जगेर्ना गर्नुपर्छ भनेर यायोक्खाको आयोजनामा मनाउदै आएको छौं,’ अध्यक्ष राईले भने,‘अब छिरिङहरुको यहाँ कति छन् खोजी गरेर संगठन बनाउँछौं ।’

जिमी चोकमा २०३२ सालतिर वडाङमी पर्व मनाउने गरिएको समेत उनले बताए । धनकुटाको शहिदभुमी गाउँपालिकाको खोकु, आखिसल्ला र खाल्सा क्षेत्रमा मात्र बसोबास रहेको छिरिङ समुदायको बसोबास रहेको छ । तात्कालिन राजा पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा पूर्वको किरात राज्यमाथी आक्रमण गर्दा सबै राईहरु संगठित भएर लडेका थिए । त्यही संगठित हुनुलाई ‘छिरिङ’ भनिएको बुढापाकाहरुको भनाई छ ।