इटहरी: हालै बुटवलमा भव्यरुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पनि पूर्वान्चल फेशन शो गर्ने भएको छ ।

नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा विराटनगरमा पनि हुन लागेको हो । पुर्वका उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । कार्यक्रम पौषको अन्तिम साता बिराटनगरमा हुनेछ । उक्त शो का निमित्त मोडलहरुको छनौट गर्न ईटहरीको त्रियुगा होटलमा पौष ७ गते, बिराटनगरको द व्यन्जन फुडल्याण्डमा पौष ८ गते, बिर्तामोडको हवी सुइमिङ्ग कम्पलेक्स एण्ड रेडमगमा पौष ९ गते, दमकको कन्चन ट्रेडर्समा पौष १० गते र धरानको फ्रेण्डस गार्डेनमा पौष ११ गते अडिसन राखिएको छ ।

र्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले आफुलाई पायक पर्ने स्थानमा तोकिएको मितीमा आइ अडिसन दिन सकिने बताइएको छ । मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासील गरि व्यबसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने पूर्वान्चलकै लोकप्रिय एवं चर्चित गायक श्रीकृष्ण लुईटेल(बोके दाह्री)ले बताए । उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । नेपालकै चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा १ हप्ते निःशुल्क तालिम हुने उक्त शोमा नेपालका चर्चित गायक गायिका, लोकप्रिय हांस्य कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने छ । ३ वटा सिक्वेन्स रहने शोमा राजधानीबाट डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन । शो मा सहभागी मध्येका उत्कृष्ट केही मोडलहरुलाई फेबु्रअरीमा थाईलैण्डको बैंककमा हुन लागेको अन्तराष्ट्रिय फेशन शोमा सहभागी गराईने जानकारी प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताए ।