विराटनगर: जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार र प्रहरी जवान गणेश खवास मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी(वेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

उनीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरिका प्रहरीहरुमध्ये मंसिर महिनाको उत्कृष्ट प्रहरी छनौट गरेको हो । प्रदेश प्रहरीले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन र सम्पादित कार्यको उचित मूल्याङकन गर्न पुलिस अफ दि मन्थ घोषणा गर्दै आएको छ । विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही दक्षिण सिमावर्ती एरियाहरुबाट हुने चोरीरतस्करी नियन्त्रण गर्न दुवै सफल भएको प्रदेश प्रहरीले जनाएको छ । यसैगरि, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भूमिका निर्वाह गरेको, विभिन्न आपराधिक समूहमा रही अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भएर जनतालाई सुरक्षाको अनुभूति दिलाएर प्रहरीको छवि उच्च बनाएको भन्दै सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनएको छ ।

सर्वोत्कृष्ट घोषित प्रहरी मध्ये नायब निरीक्षक सोनार इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहा दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत छन् भने जवान खवास इलाका प्रहरी कार्यालय छिटाहा, सुनसरी संचार दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत छन् । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरिन्छ भने उनीहरुको उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।