इटहरी : इटहरीमा बसेर साहित्य साधना गरिरहेका कवि आलोक खनालको कविताकृति म देश भएको छैन को काव्य विमर्श गरिएको छ ।

मंगलबार इटहरीको विश्व आदर्श कलेजमा आयोजित कार्यक्रममा कविताकृति माथि टिप्पणी गर्दै प्रा.डा भीम खतिवडाले आलोकमा सानै उमेरदेखि काव्यिक चेत भएकाले सानै उमेरमा कविताकृति प्रकाशन गर्नु उदाहरणीय रहेको बताए । आलोकको २६ औँ जन्मोत्सवको अवसर पारेर उक्त बिमर्शको आयोजना गरिएको थियो । उमेरले साहित्य नलेखिने बताउँदै खतिवडाले भने,‘आलोकमा कवित्वको चेत भएकाले यहि उमेरमा कृति प्रकाशन हुनु सुखद् हो, उनको कृतिमा अनौठो खालको प्रस्तुती छ ।’ उनले आगामी दिनमा निरन्तर रुपमा साहित्य सिर्जनाका लागि शुभकामना दिएका थिए ।

त्यस्तै, पुस्तकमाथि टिप्पणी गर्दै कवियत्री टीका आत्रेयले आलोकको संग्रहभित्र रहेका अधिकांश कविताहरु पाठकले नबुझ्ने बताईन् । उनले कविता नबुझ्ने र बुझेपछि पढिरहन मन लाग्ने बताईन् । मृत्युलाई नजिकबाट चिनेको र मृत्युको चिन्तन गरेका खनालको लेखन क्षेत्र अझै निखारिएर आउनका लागि शुभकामना दिईन् । कार्यक्रममा कृष्णबिनोद लम्सालले आलोकको परिचय दिदैँ उनले धेरैपटक मृत्यु चिन्तन गरेको र दुःख, संघर्षले कविताको साधनामा निरन्तर रहेको बताए । खनालका पिता धनन्जय खनालले कार्यक्रममा बोल्दै आफ्नो छोरो सानैदेखि साहित्यमा रुची राख्ने भएकाले आँफूले पनि पढ्नका लागि सधैँ प्रोत्साहन गर्ने बताउँदै भने, ‘कहिलेकाँही खाना खान बोलाउँदा पनि कापीमा कोरिरहने गरेकाले आज संग्रह लिएर आएको हो ।’

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा बद्री बिशाल पोखरेलले कविताकृति भित्र रहेको म देश भएको छैन शीर्षकको कविता वाचन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । विश्व आदर्श कलेजको आयोजना, राम प्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रम लेखनाथ घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कविता संग्रह गत भदौमा प्रकाशित भएको हो । उक्त संग्रहभित्र ४० वटा कविता संग्रहित छन् ।