पथरी : चलचित्र ‘पुरानो बुलेट’मा नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा. लि. को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा अनुप गाउँको एक ‘पोजे’ युवाको भूमिकामा छन् । कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, बेगी पेन्ट र डिङ्गो बुट र हिड्डुल गर्दा भने उनको साथमा पुरानो बुलेट छुट्ने छैन । ‘आफुले अभिनय गरेका अन्य चलचित्र भन्दा यस चलचित्रमा मेरो गेटअप फरक छ ।’ अनुपले मुस्कुराउँदै भेटमा भने–‘मेरो फरक लुक्स सँगै मेरो क्यारेक्टर पनि अन्य चलचित्रमा भन्दा फरक छ त्यसैले यस चलचित्रबाट मैले धेरै आशा गरेको छु ।’
चलचित्रमा अनुपका अलवा वर्षा शिवाकोटी, माला लिम्बु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले, शिरोमणि दवाडी, बारत लिम्बु, बादल श्रेष्ठ, लगायतको अभिनय रहेको छ । पूर्वको रमणीय स्थलहरुमा हरि घले लामाले खिचेको यस फिल्मका निर्माण नियन्त्रण याम वलीले सम्हालेका थिए । निर्देशक भीषण र कार्यकारी निर्माता सन्तोष राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


































































