धनकुटा : साहित्यकार झमक घिमिरेको चर्चित आत्मकथामा आधारित ‘जीवन काँडा कि फूल’ फिल्म आगामी चैत्र २२ गतेदेखि देशभर रिलिज हुने भएको छ ।
निमार्ण कम्पनी विष्ट ब्रदर्श फिल्म प्रालिले शनिवार धनकुटा–६ कचिडे स्थित घिमिरेको जन्मघरमा पत्रकार सम्मेलन गर्दै फिल्मको रिलिज मिति घोषणा गरेको हो ।
साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ कृतिले २०६७ सालको मदन पुरस्कार पाएको थियो । सोही कृतिमा आधारित रहेर फिल्म निर्माण भएको हो ।
फिल्मका निर्माता तथा निर्देशक विनोद विष्ट हुन् । उनले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ निर्माण गरिसकेका छन् । फिल्मले कितावमा जस्तै पर्दामा सामाजिक सन्देश दिने उनले बताए । फिल्ममा झमक जन्मिएदेखि मदन पुरस्कार पाएसम्मको दृष्य समावेश गरिएको उनले बताए ।
फिल्मका वितरक सुनिल मानन्धर छन् । फिल्ममा झमक सानो छँदाको रोल सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धचार्यले गरेकी छिन् । त्यस्तै झमकको वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरि लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
करिव ६० लाख रुपैयाको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ । फिल्मका कार्यकारी निर्माता बद्री चौहान, उमानाथ सुवेदी, जुनु गौतम, संवाद झमक घिमिरे, मुक्ति उपाध्याय बराल, पटकथा मुक्ति उपाध्याय बराल, संगीत प्रकाश शिवाकोटी, गीतकार झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेश प्रकाश महराले गरेका हुन ।


































































