धरान: विवाहित महिलाहरुलाई लक्षित गरी गत बर्षदेखि आयोजना हुदै आएको ‘मिसेस स्टेट १’ प्रतियोगिताको दोस्रो सँस्करण धरानमा आगामी फागुन अन्तिम साता हुने भएको छ ।

धरानका विवाहित एवं गृहणी महिलाहरुले स्थापना गरेको वुमन वर्थ ग्रुप इभेन्ट म्यानेजमेन्ट प्रालि(डब्लुडब्लुजी)को आयोजनामा प्रतियोगिताको फाइनल फागुन २४ गते हुने भएको हो । त्यसको लागि अडिसन भने धरानमा आगामी माघ १९ गते शनिबार हुने संस्थाकी कोषाध्यक्ष रोजी ताम्राकारले बताइन् । धरान–९ स्थित हाङकुक साराङ एण्ड कोरियन रेष्टुरेन्टमा अडिसन हुने उनले जानकारी दिइन् । अडिसन धरान बाहिर पनि जाने आयोजकले जनाएको छ । ‘अडिसनका लागि धरान बाहिर पनि जान्छौं, पहिला फारम वितरण गछौ, १० जनासम्म प्रतियोगी भयो भने अवश्य जान्छौं,’ ताम्राकारले भनिन् ।

प्रतियोगितामा गत वर्ष फाइनलमा ३५ जना सहभागी थिए । यसपटक पनि त्यतिकै संख्यामा अडिशनबाट छनौट गरिने आयोजकले जनाएको छ । अडिसनबाट बन्द प्रशिक्षणमा छनौट भएकाहरुलाई क्षमता अभिबृद्धिको लागि विभिन्न तालिम प्रदान गरिने संस्थाकी अध्यक्ष सुजता श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार संविधानमा महिलाको अधिकार, महिला सशक्तिकरण तथा लैङगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकारात्मक सोचाई अभिबृद्धि तालिम, पर्यटन, फिटनेशलगायतका विषयमा सम्बन्धित विज्ञहरुबाट तालिम दिइनेछ । विवाहित महिलाहरु घरैमा गृहणीको रुपमा मात्र सिमित हुने भएकाले उनीहरुको क्षमता अभिबृद्धि तथा व्याक्तित्व विकासको लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पारिन् । ‘महिलाहरु घर धन्दामा मात्र सिमित नहोस्, विवाह पछि पनि क्षमता अभिबृद्धि होस् भन्ने उद्देश्यले हामीले कार्यक्रम गरेका हौ,’उनले भनिन्,‘त्यसैले यो प्रतियोगिता मात्र नभएर उनीहरुमा लुकेको प्रतिभा देखाउने प्लेट फर्म पनि हो ।’

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित क्राउन, ट्रफी र गिफ्ट प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी, फस्ट नरनअपले नगद ५० हजार र सेकेण्ड रनरअपले नगद २५ हजार रुपैयाँसहित क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर दिइने आयोजकको भनाइ छ । टाइटल अवार्डतर्फ मिसेस ट्यालेन्ट, पर्सनालिटि, ब्यूटिफुल, फेण्डिसिप, वेस्ट वक, स्माइल, फोटोजेनिक, डिस्प्लिन र एक्टिभ रहेको छ । प्रतियोगिताको ग्राण्ड फिनाले फागुन २४ गते धरान सभागृहमा हुने भएको आयोजकले जनाएको छ । पहिलो संस्करण झुम्काकी सम्झना घतानीले विजेता बनेकी थिइन् ।