धरान : आगामी माघ १८ गतेबाट प्रदर्शनमा आउने यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला फिल्मको तुलनामा फरक देखिएका छन् ।

उनले यसै फिल्मको लागि आफ्नो वजन समेत बढाएका थिए । सुशीलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशील र प्रसान्त बीचको टकरावनै ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ । यी दुईसँगै अन्य दुई डेब्यु गर्ल सुभेच्छा खड्का र सुपुस्पा भट्टलाई पनि प्रस्तुत गरिएको छ । फिल्मनगरीको लागि नया अनुहार भएता पनि सुभेच्छा खड्का सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुन्दरी हुन् भने सुपुस्पा पनि सिएकि विधार्थी हुन् । ट्रेलरमा टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मा पनि उस्तै दमदार रुपमा देखिएका छन् ।

फिल्ममा जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।