धरान: सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले आइतबार दिउँसो जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरान ८ तीनकुनेमा सवारी सधानको अवस्था र चालकको स्वास्थ्य जाँच गरेको छ ।
प्रहरी प्रधान कार्यालय, ट्राफिक निर्देशनालयको निर्देशन अनुसार सवारी साधनसँगै चालकको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक बाबुकाजी गिरीले बताए । उनका अनुसार आज सबै जिल्लाहरुमा चालक र सवारीको अवस्थाबारे जाँच गरिएको थियो । आइतबार ट्राफिक कार्यालय, प्रहरी कार्यालय, मेकानिक, बिपी प्रतिष्ठानको चिकित्सकसहितको टोलीले तीनकुनेमा सवारीको अवस्था र चालकको स्वास्थ्य जाँच गरेको हो । करिब १२ बजेदेखि अढाई बजेसम्म जाँच गरिएको थियो ।
ठुला सवारी बस र ट्रकलाई लक्षित गरेर भएको सवारी तथा स्वास्थ्य जाँच गर्दा ६ जना चालकको आँखा केही कमजोर र ५ जनाको उच्च रक्तचाप देखिएको थियो भने १० वटा सवारीको अवस्था ठिक नभएको भेटिएको थियो । सवारी तथा स्वास्थ्य जाँचमा कुल ४० वटा ट्रक, ५२ वटा बस र ७ वटा जिप खालका साना सवारी साधनको जाँच गरिएको थियो । 'ट्राफिकले ब्लु बुक र लाइसेन्स मात्र जाँच गर्ने र प्रहरीले ढुवानी समान मात्र जाँच गर्ने होइन, सवारी सधानको अवस्था कस्तो छ ? भनेर पनि चासो राख्नुपर्ने हुन्छ,' प्रहरी निरीक्षक गिरीले भने, 'दुर्घटना हुने कारणमा सवारी साधानको अवस्था ठिक नभएर र चालकको स्वास्थ्य पनि ठिक अवस्था नहुदा पनि दुर्घटना हुने कारण अध्ययनबाट देखिएको छ ।'
प्रहरी निरीक्षक गिरीका अनुसार चालकहरुको आँखाको भिजिविलिटी कस्तो छ ? रंग चिन्छन् कि चिन्दैनन्, कति टाढासम्मको हेर्न सक्छ ? भनेर परीक्षण गरिएको थियो । यस्तै, अन्य स्वास्थ्य परीक्षण पनि भएको उनले बताए । मेकानिकले सवारीको धुवा कस्तो फाल्छ ? गियर, ब्रेक, एक्सेलेटर, क्लजलगायतको अवस्था ठिक छ कि छैन ? भनेर जाँच गरिएको थियो । 'ज जसको स्वास्थ्यमा समस्या देखियो, उहाँहरुलाई राम्रो उपचार गराउन भन्यौ, गाडीलाई पनि ठिक गर्न भन्यौ,' गिरीले भने ।