धरान : छैठौं संस्करणको ‘यूनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरी छात्र तथा छात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ज्ञान दर्पण एकेडेमी तरहरा र छात्रातर्फ साविक विजेता हाम्रो बोडिङ स्कुल इटहरी विजेता बनेका छन् । गतवर्ष पाँचौ संस्करणमा पनि छात्रातर्फ हाम्रो बोडिङ विजेता बनेको थियो ।
धरान–१५ स्थित विद्यालयको भलिबल कोर्टमा शनिबार भएको अन्तिम फाइनल खेलमा छात्रतर्फ ज्ञान दर्पणले पूर्वाञ्चल इङलिस बोडिङ स्कुल तरहरालाई ३–१ को सेटमा हराउँदा छात्रातर्फ हाम्रो बोडिङले समिट हाइस्कुललाई ३–० को सोझो सेटमा हराउदै विजेता बनेको हो । छात्रतर्फ ज्ञानदर्पणले पूर्वाञ्चललाई पहिलो र दोस्रो सेटमा २५–१६, २५–१६ ले विजयी भएको थियो । तर, तेस्रो सेट पूर्वाञ्चलले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भएपनि चौथो सेटमा २५–२१ ले पूर्वाञ्चललाई हराउदै ज्ञानदर्पणले उपाधि हात पारेको थियो । त्यसैगरी, छात्रातर्फ हाम्रो बोडिङले समिटलाई प्रत्येक सेटमा २५–१३, २५–१५ र २५–९ को सोझो सेटमा हराउदै उपाधि उचालेको हो । विजेता बनेको ज्ञान दर्पण र हाम्रो बोडिङले नगद १५–१५ हजार रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, दोस्रो बनेको छात्रतर्फ पूर्वाञ्चल र छात्रातर्फ समिटले नगद १२–१२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । त्यस्तै, तेस्रो बनेको छात्रतर्फ पूर्व क्षेत्रीय प्रहरी स्कुल र छात्रातर्फ पीस जोन इटहरीले नगद १०–१० हजार रुपैयाँसहित ट्रफी प्राप्त, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्ते, व्याक्तिगत पुरस्कारतर्फ बेष्ट सर्भिसमा ज्ञान दर्पणका दिपक बस्नेत र छात्रातर्फ पिस जोनकी लक्ष्मी दाहाल घोषित हुँदा बेष्ट डिफेन्समा पूर्वाञ्चलका प्रबेश राई र छात्रातर्फ समिटकी मिनिशा राई घोषित बनिन् । त्यस्तै, बेष्ट लिफ्टरमा ज्ञान दर्पणका समिर राई र छात्रातर्फ हाम्रो बोडिङकी लावती लिम्बू घोषित हुँदा बेस्ट स्पाइकरमा पूर्व क्षेत्रीय प्रहरीका विवेक चौधरी र छात्रातर्फ समिटकी नुक्सा राई घोषित बनिन् । त्यसैगरी, बेष्ट प्लेयरमा ज्ञान दर्पणका सुजन चौधरी र छात्रातर्फ हाम्रो बोडिङकी रितिका गुरुङ घोषित हुँदा बेष्ट ब्लकरमा पिस जोनका रिलेश ठकुरी घोािष्त भए । उनीहरुले जनही १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फेयर प्ले टिम पिस जोन स्कुल र छात्रातर्फ यूजिए ‘बी’ घोषित भएको विद्यालयका शिक्षक कर्मा शेर्पाले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्रअ पेम्बा शेर्पा, विद्यालयका सञ्चालक श्याम राई, पूर्व क्षेत्रीय प्रहरीका प्रअ डिकेन्द्र रायमाझी, समिटका प्रअ रमेश दाहाल, हाम्रो बोडिङका प्रअ तेज बहादुर निरौला, ज्ञान दर्पणका प्रअ रमेश कार्कीलगायतले प्रतियोगिताको विजेताहरुलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । माघ २ गतेदेखि सुरु भएको प्रतियोयोगितामा जिल्लाभरीका संस्थागत विद्यालयका छात्र १६ र छात्रा १४ गरी जम्मा ३० टिम सहभागी बनेको विद्यालयका सहायक प्रअ तथा खेल संयोजक सन्तोष पोख्रेलले बताए ।



































































